काठमाडौं – नेकपा एमालेका सचिव राजन भट्टराईले संसदीय निर्वाचन नलड्ने घोषणा गरेका छन् । काठमाडौं-४ मा भारी मतान्तरले पछाडि परेपछि उनी उम्मेदवार नबन्ने बताएका हुन् ।
उनले यसपटक पनि अन्तिम समयमा मात्रै उम्मेदवारी दिने निर्णय गरेका हुन् । काठमाडौं-४मा दुई पटक हार व्यहोरिसकेका र अहिले पनि हारको नजिक पुगेका भट्टराईले नेपाली कांग्रेसका सभापति गगन थापा उक्त क्षेत्रबाट नलड्ने भएपछि मात्रै उम्मेदवारी दिन राजी भएका थिए ।
‘म यहाँहरूका बीच सूर्य चिह्न लिएर निर्वाचनमा आएको थिएँ । तर यसपटक पनि यहाँहरूको विश्वास जित्न सकिन । लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै यस निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु । विजयउन्मुख मित्र तथा सम्बन्धित दललाई हार्दिक बधाई ज्ञापन गर्दछु । निर्वाचनका क्रममा सहयोग, साथ र समर्थन दिनुहुने पार्टीका कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन् ।
राजनीतिमा पराजय अन्तिम सत्य नभएको भन्दै यो आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर पनि भएको उनको भनाइ छ । ‘इतिहासले पनि यही देखाएको छ । आत्मसमीक्षा, सुधार र जनतासँगको सम्बन्धलाई पुनः सुदृढ गर्दै अघि बढ्दा फेरि जनताको विश्वास जित्न सफल भइन्छ। लोकतान्त्रिक यात्रामा धैर्यता, आत्ममूल्यांकन र निरन्तरताको सधैं महत्व रहन्छ र हामी यसलाई आत्मसाथ गरि नै रहने छौं । र अन्त्यमा मेरो ब्यक्तिगत निर्णय; म क्षेत्रबाट आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने पनि यसै समयमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन् ।








