टोकियो – मध्यपूर्वमा बढ्दो तनावका कारण रणनीतिक रूपमा महत्त्वपूर्ण ‘होर्मुज जलसन्धि’ बन्द भए पनि जापानसँग २५४ दिनका लागि पर्याप्त तेल भण्डार सुरक्षित रहेको प्रधानमन्त्री सानाए ताकाइचीले बताएकी छिन् ।
सोमबार जापानी संसद अन्तर्गतको तल्लो सदनको बजेट समिति बैठकमा बोल्दै प्रधानमन्त्री ताकाइचीले ऊर्जा आपूर्तिको स्थिरताका लागि सरकार पूर्ण रूपमा सचेत रहेको स्पष्ट पारिन् । जापानको ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलसन्धि बन्द भएको सन्दर्भमा उनले भनिन्, ‘हामी वस्तुस्थितिको सुक्ष्म अध्ययन गरिरहेका छौँ । जापानका लागि तेल बोकेका केही ट्याङ्करहरू अहिले पर्सियन खाडीमा रोकिएका छन् र त्यहाँ चालक दलका सदस्यहरूको सुरक्षा सुनिश्चित गरिएको छ ।’
प्रधानमन्त्री ताकाइचीले मुलुकको अर्थतन्त्र र जनजीवनमा पर्न सक्ने सम्भावित असरलाई कम गर्न सरकारले तत्काल आवश्यक कदम चाल्ने प्रतिबद्धता समेत जनाइन् । ‘डेमोक्रेटिक पार्टी फर द पिपुल’का सांसद सातोशी आसानोले सोधेको प्रश्नको जवाफ दिँदै उनले जापानसँग झण्डै साढे आठ महिना (२५४ दिन) का लागि पुग्ने तेल मौज्दात रहेकाले ऊर्जा संकटबाट नआत्तिन आग्रह गरिन् ।








