टोकियो – जापानमा रोजगारीको खोजीमा रहेका झन्डै आधा व्यक्तिहरूले अन्तर्वार्ता वा पूर्व-विद्यार्थीसँगको भेटघाटका क्रममा यौनजन्य दुर्व्यवहार र असहज व्यवहारको सामना गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ ।
टोकियोस्थित ‘काइटेरा इंक’ले हालै गरेको अनलाइन सर्वेक्षणअनुसार रोजगारी खोज्नेहरूमध्ये २२.८ प्रतिशतले शारीरिक स्पर्श र निजी भेटघाटका प्रस्ताव जस्ता ‘स्पष्ट यौन दुर्व्यवहार’ भोगेको बताएका छन् । थप २७.१ प्रतिशतले आफूमाथि यौनजन्य हो वा होइन भन्ने खुल्न नसक्ने तर अत्यन्तै अनुपयुक्त र असहज टिप्पणी वा व्यवहार भएको उल्लेख गरेका छन् । यस तथ्याङ्कले हरेक दुईमध्ये एक जागिरका आकांक्षीले कुनै न कुनै रूपमा दुर्व्यवहार खेप्ने गरेको संकेत गर्दछ ।
दुर्व्यवहारबाट जोगिन र प्रमाण जुटाउन उम्मेदवारहरूले ‘आत्मरक्षा’को बाटो रोज्न थालेका छन् । सर्वेक्षणमा सहभागीमध्ये करिब ४० प्रतिशतले अन्तर्वार्ता वा भेटघाटको कुराकानी गोप्य रूपमा रेकर्ड वा दस्तावेजीकरण गर्ने गरेको स्वीकारेका छन् । तीमध्ये अधिकांशले व्यक्तिको व्यवहार वा स्थान शंकास्पद लागेमा मात्र रेकर्ड गर्ने गरेको पाइएको छ ।
सर्वेक्षणमा सहभागीहरूले यस्ता विकृति रोक्न कम्पनीहरूले व्यक्तिगत सामाजिक सञ्जालको सट्टा आधिकारिक सञ्चार माध्यम प्रयोग गर्नुपर्ने, अन्तर्वार्ता साँझको समय वा रेस्टुरेन्टमा नगर्न र तेस्रो पक्षमार्फत अनुगमन गराउनुपर्ने सुझाव दिएका छन् ।
भर्ती प्रक्रियामा संलग्न ७२ प्रतिशतभन्दा बढी रोजगारदाताले भने उम्मेदवारले कुराकानी रेकर्ड गर्न चाहेमा अनुमति दिने गरेको बताएका छन् । सर्वेक्षण सार्वजनिक गर्ने संस्था काइटेराका अनुसार, उम्मेदवारले गर्ने रेकर्डिङ मुख्यतया आत्मरक्षाको उपाय हो, जसले नियुक्ति प्रक्रियामा मर्यादित र व्यावसायिक सञ्चारको आवश्यकतालाई झनै टड्कारो बनाएको छ ।








