Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – हवाई उडानका क्रममा हुन सक्ने सम्भावित आगलागीका घटना रोक्न र सुरक्षा सतर्कता अपनाउन जापानले यात्रुहरूका लागि पावर बैंक (मोबाइल ब्याट्री) बोक्ने र प्रयोग गर्ने सम्बन्धमा नयाँ र कडा नियम प्रस्ताव गरेको छ ।

जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको मस्यौदा प्रस्तावअनुसार, अबदेखि हवाई यात्रुले आफूसँग बढीमा दुईवटा मात्र पावर बैंक राख्न पाउनेछन् । पछिल्लो समय पावर बैंकका कारण जहाजभित्र आगलागीका घटनाहरू बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।

प्रस्तावित नियमअनुसार यात्रुहरूले १६० वाट-आवर वा सोभन्दा कम क्षमताका मोबाइल ब्याट्री तथा क्यामेराका जगेडा ब्याट्रीहरू बढीमा दुईवटासम्म मात्र जहाजभित्र लैजान पाउनेछन् । यद्यपि, १०० वाट-आवरभन्दा कम क्षमताका जगेडा ब्याट्रीहरूको हकमा भने सङ्ख्याको कुनै सीमा तोकिएको छैन ।

यसका साथै, हवाई उडानको समयमा पावर बैंक प्रयोग नगर्न यात्रुहरूलाई अनुरोध गरिनेछ । अझ महत्त्वपूर्ण कुरा, जहाजभित्र उपलब्ध रहेका पावर आउटलेट (विद्युतीय प्लग) बाट पावर बैंक चार्ज गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइने प्रस्ताव मस्यौदामा उल्लेख छ ।

संयुक्त राष्ट्र सङ्घको निकाय ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन’ले पनि आगामी महिनादेखि विश्वभर यस्तै प्रकृतिको नियम लागू गर्ने अपेक्षा गरिएको छ । सोही अनुरुप जापानले आफ्नो आन्तरिक उडान र सुरक्षा नियमहरू परिमार्जन गर्न लागेको हो । जापानी मन्त्रालयले यस प्रस्तावमाथि आगामी मार्च ३० सम्म सार्वजनिक राय संकलन गर्ने र अप्रिलको मध्यसम्ममा नयाँ नियम कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ ।

सन् २०२५ को जनवरीमा ‘एयर बुसान’ द्वारा सञ्चालित एक सस्तो हवाई सेवाको विमानभित्र अचानक आगलागी भएको थियो । अनुसन्धानका क्रममा उक्त आगलागी एउटा खराब पावर बैंकका कारण भएको खुलेको थियो । यस्ता जोखिमपूर्ण घटनाहरू दोहोरिन नदिन जापान सरकारले उडान सुरक्षालाई प्राथमिकतामा राख्दै कडाइ गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया