टोकियो – जापानी प्रधानमन्त्री सानाय ताकाइचीले गत फेब्रुअरी ८ को आम निर्वाचनमा विजयी आफ्ना पार्टीका सबै सांसदहरूलाई ‘उपहार क्याटलग’ वितरण गरेको स्वीकार गरेकी छिन् । बुधबार संसदमा बोल्दै उनले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का ३१५ जना सांसदलाई उपहार बाँडेको स्वीकार गरेकी हुन् ।
नारा प्रान्तको स्थानीय पार्टी शाखाको राजनीतिक कोष प्रयोग गरी प्रतिव्यक्ति ३० हजार येन बराबरको उपहार सूची पठाइएको उनले जानकारी दिइन् । ‘कठिन निर्वाचनमा विजयी भएका सांसदहरूको हौसला बढाउन पार्टीको स्थानीय शाखाले उपहार दिएको हो, यसमा कुनै कानुनी त्रुटि छैन,’ ताकाइचीले प्रतिपक्षी दलको प्रश्नको जवाफ दिँदै भनिन् । उनले यस कार्यमा सरकारी अनुदानको दुरुपयोग नभएको समेत स्पष्ट पारिन् ।
जापानमा सन् २०२३ देखि नै राजनीति र पैसाको अपारदर्शी सम्बन्धलाई लिएर जनतामा चर्को असन्तुष्टि रहँदै आएको छ । यसअघिका प्रधानमन्त्री सिगेरु इशिबामाथि पनि नयाँ निर्वाचित सांसदहरूलाई १ लाख येनको उपहार भौचर बाँडेको आरोपमा कडा आलोचना भएको थियो ।
पछिल्लो निर्वाचनमा ताकाइची नेतृत्वको एलडीपी र उसको साझेदार दलले तल्लो सदनमा तीन–चौथाई बहुमत हासिल गरेका छन् । यद्यपि, पुरानो ‘स्लस फण्ड’ (गुप्त कोष) काण्डका कारण पार्टीको छविमा लागेको धक्का मेटिनसक्दै प्रधानमन्त्री नै उपहार विवादमा तानिएपछि जापानमा राजनीतिक नैतिकताको बहस फेरि सुरु भएको छ ।








