टोकियो – रुस-युक्रेन युद्ध सुरु भएको चार वर्ष पुग्नै लाग्दा जापानमा शरण लिइरहेका युक्रेनी नागरिकहरू अब स्वदेश फर्कनुको साटो जापानमै स्थायी रूपमा बसोबास गर्न इच्छुक देखिएका छन् । युद्ध तत्काल अन्त्य हुने सुनिश्चितता नभएपछि उनीहरूले यस्तो चाहना राखेका हुन् ।
शनिबार टोकियोमा ‘नेशनल काउन्सिल अफ वाइएमसीए अफ जापान’ नामक गैरसरकारी संस्थाले आयोजना गरेको एक कार्यक्रममा युक्रेनी नागरिकहरूले आफ्ना भोगाइ र चुनौतीहरू साझा गरेका छन् । कार्यक्रममा सहभागीहरूले युद्धग्रस्त देश फर्कन असुरक्षित रहेको र जापानमा जीवनयापनका लागि संघर्ष गरिरहेको बताएका थिए ।
एक ६० वर्षीया युक्रेनी महिलाले जापानी भाषा को कठिनाइ र उमेरका कारण रोजगारी पाउन नसक्दा आफू सरकारी सहयोगमा निर्भर हुनुपरेको पीडा सुनाइन् । त्यस्तै, अर्की एक सहभागीले युद्धका बीच स्वदेश फर्किए पनि त्यहाँको तनावपूर्ण वातावरण र निरन्तरको ड्रोन आक्रमणका कारण पुनः जापानै फर्कन बाध्य भएको बताइन् ।
जापानको अध्यागमन सेवा निकायका अनुसार गत जनवरी ३१ सम्ममा १ हजार ९ सय ६७ युक्रेनी नागरिकहरू जापानमा बसोबास गरिरहेका छन्। हालै गरिएको एक सर्वेक्षणमा सहभागीमध्ये ६० प्रतिशतले जापानमै स्थायी रूपमा बसोबास गर्ने इच्छा व्यक्त गरेका छन्, जुन गत वर्षको तुलनामा उल्लेख्य वृद्धि हो ।
संस्थाकी प्रतिनिधि योकोयामा युरियाले भनिन्, ‘आफ्नो देश फर्कने कुनै सम्भावना नदेखेपछि धेरै विस्थापितहरूले जापानमै बस्ने सोच बनाउन थालेका छन् । उनीहरूलाई स्थानीय समुदायमा घुलमिल हुन र सहयोग पुऱ्याउन थप पहल आवश्यक छ ।’








