टोकियो – पश्चिमी जापानको यामागुची प्रान्तस्थित एक बौद्ध मन्दिरमा शुक्रबार बिहान भीषण आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार सिमोनोसेकी शहरमा रहेको उक्त मन्दिरमा लागेको आगोमा परी त्यहाँ बसोबास गर्ने पाँचै जनाले ज्यान गुमाएका हुन् ।
प्रहरीले दिएको जानकारीअनुसार दुईतले काठको संरचना रहेको उक्त बौद्ध मन्दिरसँगै आवासीय क्षेत्र पनि जोडिएको थियो । आगलागीको समयमा सोही भवनमा पाँच जना बसिरहेको र उनीहरू सबैको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
शुक्रबार बिहान सबेरै मन्दिरबाट आगोको लप्का निस्किएको देखेपछि एक छिमेकीले आपतकालीन सेवामा खबर गरेका थिए । स्थानीय अग्नि नियन्त्रण विभाग र प्रहरीका अनुसार, झण्डै तीन घण्टाको निरन्तर प्रयासपछि बिहान ५:४० बजेतिर मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
काठले बनेको पुरानो शैलीको भवन भएका कारण आगो छिटो फैलिएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ भने मृतकहरूको पहिचान खुलाउने प्रक्रिया जारी रहेको बताएको छ ।








