टोकियो – जापानको ओसाका सहरमा खानेपानीको पुराना पाइपहरू मर्मत तथा स्तरोन्नतिका लागि एक अज्ञात दाताले २१ किलोग्राम सुनको ईंटा (गोल्ड बुलियन) दान गरेका छन् ।
बिहीबार ओसाका महानगरपालिकाले दिएको जानकारीअनुसार उक्त सुनको बजार मूल्य करिब ५६ करोड येन (करिब ३६ लाख अमेरिकी डलर) रहेको छ । ओसाकाको खानेपानी विभागका अनुसार खानेपानी प्रणाली सुधारका लागि प्राप्त भएको यो अहिलेसम्मकै ‘अभूतपूर्व’ र ठूलो परिमाणको दान हो ।
महानगरका मेयर हिदेयुकी योकोयामाले एक पत्रकार सम्मेलनमा दाताप्रति आभार प्रकट गर्दै भने, ‘पुराना खानेपानीका पाइपहरूको व्यवस्थापन र मर्मत गर्न ठूलो लगानीको आवश्यकता पर्छ । यस्तो अवस्थामा प्राप्त यो सहयोगका लागि म अत्यन्तै कृतज्ञ छु ।’
जापानका विभिन्न नगरपालिकाहरूमा दोस्रो विश्वयुद्धपछिको तीव्र आर्थिक विकासका क्रममा बिछ्याइएका खानेपानी र ढलका पाइपहरू अहिले पुराना र जीर्ण हुँदै गएका छन् । यो समस्या अहिले जापानभर टाउको दुखाइको विषय बनेको छ । विशेषगरी गत वर्ष टोकियो नजिकैको साइतामा प्रान्तमा ढलको पाइप फुटेर सडकमा ठूलो खाडल (सिंकहोल) बन्दा एक ट्रकसहित चालकको मृत्यु भएको घटनापछि पूर्वाधार सुरक्षाको विषय झन् गम्भीर बनेको छ ।
ओसाका सहरमा रहेका अधिकांश खानेपानीका पाइपहरू दशकौँ पुराना छन् । खानेपानी ब्युरोको तथ्याङ्कअनुसार मार्च २०२५ सम्मको एक वर्षको अवधिमा मात्रै सडकमुनि खानेपानी चुहावटका ९२ वटा घटनाहरू दर्ता भएका छन् । अज्ञात दाताबाट प्राप्त यस ठूलो सहयोगले सहरको जीर्ण खानेपानी संरचना सुधार गर्न र सम्भावित दुर्घटनाहरू न्यूनीकरण गर्न ठूलो राहत पुग्ने विश्वास महानगरले लिएको छ ।








