टोकियो – फिलिपिन्सलाई आधार बनाएर जापानका विभिन्न सहरमा शृङ्खलाबद्ध डकैती र लुटपाट मच्चाउने एउटा कुख्यात गिरोहका मुख्य सदस्यलाई जापानी अदालतले जन्मकैदको फैसला सुनाएको छ । टोकियो जिल्ला अदालतले समूहका ४१ वर्षीय तोशिया फुजितालाई अभियोजकहरूको मागबमोजिम जन्मकैदको सजाय सुनाएको हो ।
लोकप्रिय जापानी एनिमे र मङ्गा चरित्रको नामबाट ‘लुफी’ उपनाम प्रयोग गर्ने यस समूहले प्रविधिको प्रयोग गरी विदेशबाटै जापानमा अपराधको सञ्जाल चलाउँदै आएको थियो । फुजिता यस गिरोहका चार प्रमुख नाइकेमध्ये दोषी ठहर हुने दोस्रो व्यक्ति हुन् । अदालतको फैसलाअनुसार, फुजिताले आफ्ना अन्य दुई सहयोगी ४१ वर्षीय कियोटो इमामुरा र युकी वातानाबेसँग मिलेर सन् २०२३ को जनवरीमा टोकियोको कोमाएस्थित एक घरमा भीषण डकैतीको योजना बनाएका थिए ।
उनीहरूले फिलिपिन्सबाटै परिचालन गरेका व्यक्तिहरू ‘पार्सल डेलिभरी’ गर्ने बहानामा घरभित्र प्रवेश गरी लुटपाट मच्चाएका थिए । सो घटनामा घरमा रहेकी ९० वर्षीया वृद्धामाथि साङ्घातिक आक्रमण गरिएको थियो । आक्रमण र त्रासका कारण उत्पन्न ‘ट्रमाटिक शक’ ले गर्दा ती वृद्धाको मृत्यु भएको थियो । लुटेराहरूले घरबाट महँगा घडी र अन्य बहुमूल्य सामानहरू लुटेर फरार भएका थिए ।
अदालतले फुजितालाई यस अपराधको ‘निर्णायक योजनाकार’का रूपमा व्याख्या गरेको छ । उनले नै लुटपाटमा संलग्न हुने व्यक्तिहरूको व्यवस्थापन र परिचालनमा मुख्य भूमिका खेलेको ठहर गरिएको छ ।
यसअघि, सोही समूहका अर्का वरिष्ठ सदस्य ४८ वर्षीय तोमोनोबु कोजिमालाई डकैतीको योजना बुनेको र सदस्यहरू भर्ती गरेको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो । कोजिमाले भने उक्त फैसला चित्त नबुझेको भन्दै पुनरावेदन गरिसकेका छन् ।
जापानमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत ‘डार्क पार्ट-टाइम जब’को प्रलोभन देखाएर युवाहरूलाई यस्ता आपराधिक गतिविधिमा संलग्न गराउने क्रम बढ्दै गएको छ । यो फैसलाले यस्ता सङ्गठित अपराधमा संलग्न हुनेहरूलाई कडा चेतावनी दिएको विज्ञहरूले बताएका छन् ।








