टोकियो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानको हालैको आम निर्वाचनमा प्रधानमन्त्री सानाय ताकाइचीको सत्तारुढ दलले हात पारेको सानदार जितमा आफ्नो समर्थनको महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन् ।
ट्रम्पले ताकाइचीलाई एक ‘अद्भुत’ नेताको संज्ञा दिए । उनले जापानको इतिहासमै यो जित निकै ठूलो भएको उल्लेख गर्दै ताकाइची स्वयंले पनि आफ्नो (ट्रम्पको) समर्थनलाई जितको श्रेय दिएको बताए । उनले भने, ‘जापान र ताकाइचीसँग हाम्रो सम्बन्ध निकै सुमधुर छ, यो जितले मलाई सम्मानित महसुस गराएको छ ।’
फेब्रुअरी ८ मा भएको निर्वाचनमा ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)ले हाउस अफ रिप्रिजेन्टेटिभ्समा दुई तिहाइ बहुमत प्राप्त गरेको छ । यो जापानको युद्धपछिको इतिहासमा कुनै पनि एकल पार्टीले प्राप्त गरेको सबैभन्दा ठूलो सिट संख्या हो । निर्वाचनको तीन दिनअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइची र उनको गठबन्धनलाई ूपूर्ण र समग्र समर्थनू दिने घोषणा गरेका थिए ।
यसैबीच, राष्ट्रपति ट्रम्पले आगामी मार्च १९ मा ह्वाइट हाउसमा प्रधानमन्त्री ताकाइचीलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ । जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइची र ट्रम्पबीचको यो भेटवार्तालाई कुटनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।








