नागोया – नेपालीहरूको महान् सांस्कृतिक पर्व फागु पूर्णिमा (होली)को पावन अवसर पारेर जापानको पर्यटकीय शहर नागोयामा भव्य ‘होली फेस्टिभल २०२६’ आयोजना हुने भएको छ । तराई कम्युनिटी जापानको सक्रियतामा आगामी वर्ष यो उत्सव विशेष उत्साह र रौनकताका साथ सम्पन्न गर्न लागिएको हो ।
गत वर्षदेखि सफलतापूर्वक सुरु गरिएको यस कार्यक्रमलाई यस पटक दोस्रो संस्करणका रूपमा अझ परिष्कृत र बृहत् बनाउने तयारी थालिएको आयोजकले जनाएको छ । नेपाल र जापानबीचको द्विपक्षीय सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने तथा प्रवासमा नेपाली कला-संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको हो ।
तराई कम्युनिटी जापानका सचिव बिशेक कुमार यादवका अनुसार कार्यक्रमले नेपाली पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै जापानी समुदायमाझ नेपाली मौलिक परम्परालाई चिनाउने लक्ष्य राखेको छ । यो महोत्सव नागोया सिटी हल तथा जापान सरकारका सम्बन्धित निकायहरूको विशिष्ट समन्वय र सहकार्यमा सम्पन्न हुने तय भएको छ ।
आगामी २०२६ फेब्रुअरी २८ तारिखका दिन नागोया सिटी हल (Nagoya City Hall) को खुला प्राङ्गणमा यो उत्सव आयोजना हुनेछ । बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूका साथै होलीको विशेष रङ्ग र सद्भाव साटासाट गरिनेछ ।
आयोजक संस्थाका अध्यक्ष विकास कुमार साहले कार्यक्रमलाई सफल र ऐतिहासिक बनाउन जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय, स्थानीय संघ-संस्था, व्यवसायी तथा सरोकारवाला निकायहरूसँग आर्थिक र नैतिक सहयोगको अपिल गरेका छन् । ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ भन्ने मूल मन्त्रका साथ आयोजना हुन लागेको यो कार्यक्रममा सहभागी भई नेपाली गौरवलाई उच्च बनाउन उनले सबैमा आग्रह गरेका छन् । जापानमा नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आपसी भाइचारा अभिवृद्धि गर्न यो होली विशेष कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।








