टोकियो – जापानको ओसाकास्थित प्रसिद्ध पर्यटकीय क्षेत्र ‘दोतोन्बोरी’ मा शनिबार राति भएको छुरा प्रहारमा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ भने अन्य दुई किशोर घाइते भएका छन् ।
प्रहरीले घटनामा संलग्न २१ वर्षीय र्योगा इवासाकीलाई आइतबार बिहान हत्या अभियोगमा पक्राउ गरेको छ । घटनास्थलबाट फरार भएका उनलाई ओसाकाकै नानिवा वार्डमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने समयमा उनीसँग चक्कु फेला परेको थियो ।
प्रहरीका अनुसार इवासाकी र पीडित किशोरहरूबीच केही समयअघिदेखि नै सामान्य चिनजान र विवाद रहेको बुझिएको छ । अभियुक्तले प्रहरीसँगको बयानमा आफ्नो हत्या गर्ने मनसाय नभएको तर तर्साउन खोज्दा विवाद बढ्दै जाँदा छुरा प्रहार हुन पुगेको बताएका छन् ।
मृत्यु हुने किशोरको पहिचान नारा प्रान्तका १७ वर्षीय र्युनोसुके कामाडाको रूपमा भएको छ । उनको छातीमा गम्भीर चोट लागेको थियो । घाइते अन्य दुई किशोरको शरीरको माथिल्लो भागमा चोट लागेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दोतोन्बोरीको चर्चित ‘ग्लिको रनिङ म्यान’ साइन नजिकैको एक रेस्टुरेन्ट भवनमा युवाहरूबीच विवाद भएपछि सो हिंसात्मक घटना घटेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।








