टोकियो – जापानमा सन् २०२५ मा लगानी, सामाजिक सञ्जालमार्फत हुने ‘रोमान्स स्क्याम’ र अन्य प्रकारका ठगीहरूले नयाँ रेकर्ड कायम गरेका छन् । बिहीबार सार्वजनिक गरिएको प्रहरी तथ्याङ्क अनुसार, गत वर्ष ठगहरूले मानिसहरूबाट कुल ३२४.११ अर्ब येन (करिब २.१ अर्ब अमेरिकी डलर) स्वाहा पारेका छन् । यो रकम अघिल्लो वर्षको तुलनामा ६२.८ प्रतिशतले बढी हो ।
जापानको राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार, सामाजिक सञ्जालमार्फत हुने लगानी सम्बन्धी ठगीका घटनाहरू अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बरले बढेका छन् । यस्ता ९,५३८ वटा घटनामा ठगहरूले १२७.४७ अर्ब येन लुटेका छन्, जुन ४६.३ प्रतिशतको वृद्धि हो । उमेर समूहका आधारमा हेर्दा, लगानी सम्बन्धी ठगीमा ५० वर्ष कटेका व्यक्तिहरू सबैभन्दा बढी पीडित भएका छन् । त्यसपछि क्रमशः ६० र ४० वर्ष उमेर समूहका मानिसहरू ठगीमा परेका छन् ।
त्यसैगरी, सामाजिक सञ्जालमा नक्कली पहिचान बनाएर माया र विश्वासको जालमा पार्ने ‘रोमान्स स्क्याम’का घटनामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष यस्ता ५,६०४ वटा घटना दर्ता भए, जसमा ५५.२२ अर्ब येन ठगी भयो । रोमान्स स्क्याममा पनि ५० वर्ष उमेर समूहका व्यक्तिहरू नै बढी पीडित पाइएका छन् । तथ्याङ्क अनुसार, यस्ता ठगीहरूमा ३० प्रतिशतभन्दा बढी ‘म्याचिङ एप’को प्रयोग भएको पाइएको छ ।
‘विशेष ठगी’ अन्तर्गत नातेदार वा सरकारी अधिकारी बनेर गरिने ठगीमा मात्रै १४१.४२ अर्ब येन लुटिएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो । प्रहरीका अनुसार, यसरी लुटिएको रकममध्ये झन्डै ७० प्रतिशत घटनामा ठगहरूले प्रहरी अधिकारीको भेषमा वा परिचय दिएर मानिसहरूलाई ठगेका थिए । विशेष ठगीका घटनाहरू ३१.९ प्रतिशतले बढेर २७,७५८ पुगेका छन् । यीमध्ये करिब ६० प्रतिशत घटनामा पीडितहरूलाई अनलाइन बैंकिङ प्रणाली वा एटीएममार्फत पैसा पठाउन लगाइएको पाइएको छ ।
जापानमा ठगी लगायतका आपराधिक घटनाहरू लगातार चौथो वर्ष बढेका छन् । सन् २०२५ मा कुल ७ लाख ७४ हजार १ सय ४२ वटा आपराधिक मुद्दाहरू अनुसन्धानको दायरामा आएका छन् । यो संख्या कोरोना महामारीभन्दा अगाडिको वर्ष सन् २०१९ को तुलनामा पनि बढी हो ।








