टोकियो – जापानमा उपभोग्य वस्तुको मूल्यमा भइरहेको निरन्तर वृद्धिका कारण पारिवारिक खर्चमा खाद्यान्नको हिस्साले विगत चार दशकयताकै उच्च विन्दु छोएको छ ।
जापानको आन्तरिक मामिला मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार, सन् २०२५ मा जापानी घरधुरीको कुल खर्चको २८.६ प्रतिशत हिस्सा खाद्यान्नमा मात्र खर्च भएको छ । अर्थशास्त्रमा यसलाई ‘एन्जल्स कोइफिसिएन्ट’ भनिन्छ, जसलाई कुनै पनि मुलुक वा समाजको जीवनस्तर मापन गर्ने सूचकका रूपमा लिइन्छ ।
सामान्यतया यो अनुपात बढ्नुलाई व्यक्तिको विलासिता र अन्य क्षेत्रमा खर्च गर्ने क्षमता घट्दै गएको र जीवनस्तरमा ह्रास आएको सङ्केतका रूपमा बुझिन्छ । प्रतिवेदनअनुसार सन् १९८१ पछि खाद्यान्नमा भएको खर्चको यो अनुपात अहिलेसम्मकै उच्च हो । यद्यपि, सर्वेक्षण विधिमा गरिएको परिवर्तनका कारण विगतका दशकहरूसँगको हुबहु तुलना भने केही कठिन रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीहरूले चामल लगायत अन्य खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिलाई यसको मुख्य कारण मानेका छन् । साथै, पछिल्लो समय घरबाहिर गएर खाने (इिटङ आउट) संस्कृतिमा भएको बढोत्तरीले पनि खाद्यान्नमा हुने खर्च बढाउन भूमिका खेलेको विश्लेषण गरिएको छ ।
तथ्याङ्कअनुसार, दुई वा सोभन्दा बढी सदस्य भएका परिवारले गत वर्ष प्रतिमहिना औसत ३ लाख १४ हजार १ येन (करिब २,००० अमेरिकी डलर) खर्च गरेका छन् । मुद्रास्फीति समायोजनपछि हेर्दा यो खर्च सन् २०२४ को तुलनामा ०.९ प्रतिशतले बढी हो । विगत तीन वर्षमा पहिलोपटक वार्षिक औसत खर्चमा यस्तो वृद्धि देखिएको हो ।
खाद्यान्न बाहेक अन्य क्षेत्रमा पनि खर्चको दायरा फराकिलो देखिएको छ। ओसाकामा आयोजित ‘वर्ल्ड एक्स्पो २०२५’ का कारण यातायात र प्रवेश शुल्कमा हुने खर्चमा उल्लेख्य वृद्धि भएको छ । त्यसैगरी, अटोमोबाइल (सवारी साधन) को क्षेत्रमा भएको खर्चमा पनि सुधार आएको प्रतिवेदनमा उल्लेख छ ।
प्रविधिको क्षेत्रमा, एक अमेरिकी टेक कम्पनीले आफ्नो पुरानो अपरेटिङ सिस्टमको ‘सपोर्ट’ बन्द गरेपछि धेरै प्रयोगकर्ताहरूले नयाँ कम्प्युटर खरिद गर्न बाध्य भएका थिए, जसले गर्दा घरायसी खर्चको ग्राफ अझ माथि उक्लिएको पाइएको छ ।








