Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

बेइजिङ – विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको जनसंख्या सन् २०२५ मा पनि लगातार चौथो वर्ष घटेको छ । सरकारले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१६ मा विवादास्पद ‘एक सन्तान नीति’ हटाएर विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याए पनि चीनमा बुढ्यौली जनसंख्याको चाप बढ्दो छ र जनसंख्या घट्ने क्रम रोकिएको छैन ।

सरकारी तथ्यांकअनुसार (ताइवान, हङकङ र मकाउ बाहेक) सन् २०२५ को अन्त्यसम्ममा चीनको कुल जनसंख्या १ अर्ब ४० करोड ४८ लाख ९० हजार कायम भएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा ३३ लाख ९० हजारले कम हो ।

सन् २०२५ मा चीनमा ७९ लाख २० हजार शिशुको जन्म भएको छ, जुन सन् २०२४ को ९५ लाख ४० हजारको तुलनामा उल्लेख्य गिरावट हो। सन् १९४९ मा माओ त्सेतुङले जनवादी गणतन्त्र चीन स्थापना गरेयताकै यो सबैभन्दा न्यून जन्मदर हो । सन् २०२३ मा ६.३९ रहेको जन्मदर २०२५ मा घटेर प्रति १ हजार व्यक्तिमा ५.६३ मा झरेको छ ।

चीनमा ६५ वर्ष वा सोभन्दा माथिको उमेर समूहको जनसंख्या कुल जनसंख्याको १५.९ प्रतिशत पुगेको छ । अर्कोतर्फ, मुख्य श्रमशक्ति मानिने १६ देखि ५९ वर्ष उमेर समूहको जनसंख्यामा ठूलो ह्रास आएको छ । यो समूहमा अघिल्लो वर्षको तुलनामा ६६ लाख २० हजारले कमि आई ८५ करोड १३ लाख ६० हजारमा खुम्चिएको छ, जुन कुल जनसंख्याको ६०.६ प्रतिशत मात्र हो ।

जनसंख्या वृद्धिका लागि चिनियाँ सरकारले सन् २०२१ देखि दम्पतीहरूलाई तीनवटासम्म सन्तान जन्माउन अनुमति दिएको छ । यसका साथै, ३ वर्ष मुनिका प्रत्येक सन्तानका लागि वार्षिक ३,६०० युआन भत्ता वितरण गर्ने जस्ता प्रोत्साहनका योजनाहरू पनि ल्याइएका छन् । 

संयुक्त राष्ट्र संघको अनुमानअनुसार सन् २०२३ मा भारतले चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुलुक बनेको थियो । चीनमा सन् १९७९ देखि लागू गरिएको ‘एक सन्तान नीति’ लाई सन् २०१६ मा अन्त्य गरिएको थियो । सन् २०२२ मा ६१ वर्षपछि पहिलो पटक चीनको जनसंख्या घटेको थियो, जुन सिलसिला अहिले २०२५ सम्म आइपुग्दा चौथो वर्ष पनि जारी छ ।

तपाईको प्रतिक्रिया