
टोकियो — दक्षिण कोरियाका पदच्युत पूर्वराष्ट्रपति युन सुक–योललाई अदालतले सत्ताको दुरुपयोग, सरकारी कागजात किर्ते र न्याय अवरोध गरेको ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ मा मार्शल ल’ घोषणा गर्ने प्रयास असफल भएपछि उनीविरुद्ध मुद्दा चलेको हो ।
अदालतको यो फैसला युनको छोटो समयमै विफल भएको मार्शल ल’ घोषणापछि सुरु भएको राजनीतिक संकटको एक वर्षभन्दा बढी समयपछि आएको हो । उक्त घटनाले देशलाई लामो समयसम्म राजनीतिक ध्रुवीकरण र अस्थिरतामा धकेलेको बताइन्छ ।
अभियोग अनुसार युनले पक्राउबाट बच्न आफ्नै निवासभित्र सुरक्षाकर्मी परिचालन गरी मानव पर्खाल बनाएका थिए । उनलाई नियन्त्रणमा लिन प्रहरीले दुई पटक प्रयास गरेको थियो । अन्ततः झण्डै ३ हजार प्रहरी परिचालन गरेर जनवरीमा पक्राउ गरिएको थियो ।
युनलाई मार्शल ल’ घोषणाअघि संवैधानिक प्रक्रियाअनुसार मन्त्रिपरिषद् बैठक नगरेको तथा निर्णयलाई वैधानिक देखाउन आधिकारिक कागजातहरू किर्ते गरिएको अभियोगमा दोषी ठहर गरिएको हो । अभियोजकहरूले युनले राज्य संयन्त्रलाई “व्यक्तिगत उद्देश्यका लागि” प्रयोग गरेको आरोप लगाएका छन्।
युनविरुद्ध अझै विद्रोह (इन्सरक्सन), चुनावी कानुन उल्लंघन लगायतका तीन छुट्टाछुट्टै मुद्दा विचाराधीन छन् । दक्षिण कोरियाको संविधानअनुसार राष्ट्रपतिलाई सामान्य अवस्थामा उन्मुक्ति भए पनि विद्रोह र देशद्रोहको मुद्दामा भने उन्मुक्ति लागू हुँदैन ।
अभियोग पक्षका अनुसार युनले युद्ध वा राष्ट्रिय आपतकाल नभएको अवस्थामा मार्शल ल’ घोषणा गरेर संसदलाई निष्क्रिय पार्ने प्रयास गरेका थिए । संसद भवन वरिपरि सेना र प्रहरी परिचालन गरी सांसदहरूलाई बैठकमा पुग्न रोक्ने र केही शीर्ष नेताहरूलाई पक्राउ गर्ने आदेश दिएको आरोपसमेत छ ।
विद्रोहसम्बन्धी मुद्दामा अभियोजकहरूले युनका लागि मृत्युदण्ड माग गरेका छन् । तर दक्षिण कोरियामा सन् १९९७ यता मृत्युदण्ड कार्यान्वयन भएको छैन । कानुनविद्हरूका अनुसार युनलाई मृत्युदण्ड दिनु राजनीतिक रूपमा जोखिमपूर्ण हुनसक्ने भएकाले अन्तिम सजाय आजीवन कारावासतर्फ जाने सम्भावना पनि छ ।
युनमाथि उत्तर कोरियासँग तनाव बढाउने उद्देश्यले उक्साहटपूर्ण कदम चालिएको आरोपसमेत लगाइएको छ । अभियोजनले उत्तर कोरियातर्फ ड्रोन उडान जस्ता गतिविधिबारे अनुसन्धान जारी रहेको जनाएको छ । मार्शल ल’ विवादबाहेक युनमाथि २०२३ मा एक जवानको मृत्यु प्रकरणमा अनुसन्धान अवरुद्ध गरेको तथा २०२२ को राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप पनि छ ।








