काठमाडौं – अमेरिकाको मिनियापोलिसमा आप्रवासी नियन्त्रण गर्ने निकाय (आईस) का अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएपछि त्यहाँको राजनीति गर्माएको छ । आप्रवासी धरपकड अभियानका क्रममा भएको यस घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको संघीय प्रशासन र स्थानीय सहरका अधिकारीबीच गम्भीर मतभेद र द्वन्द्व निम्त्याएको छ ।
बुधबार बिहान करिब ९:३० बजे दक्षिण मिनियापोलिसको ईस्ट ३४औँ स्ट्रिट र पोर्टल्यान्ड एभिन्यु क्षेत्रमा आईसले आप्रवासी लक्षित जाँच अभियान चलाइरहेको थियो । सोही क्रममा ३७ वर्षीया रेनी निकोल गुडमाथि गोली प्रहार भयो । मिनियापोलिस प्रहरीका अनुसार टाउकोमा गोली लागेकी रेनीलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । घटनालाई लिएर संघीय सरकार र स्थानीय नेतृत्वबीच विरोधाभासपूर्ण बयानबाजी सुरु भएको छ ।
राष्ट्रपति ट्रम्प र होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले मृतक महिलाले सुरक्षा अधिकारीमाथि नै गाडी चढाउने प्रयास गरेको दाबी गरेका छन् । आईसले एक विज्ञप्ति जारी गर्दै यसलाई ‘घरेलु आतंकवाद’ को संज्ञा दिएको छ । राष्ट्रपति ट्रम्पले घटनाको भिडियो फुटेज हेरेपछि ती महिलाले जानाजान अधिकारीलाई निशाना बनाएको भन्दै गोली चलाउने अधिकारीको कदमको बचाउ गरेका छन् । उनले भनेका छन्, ‘भिडियो निकै डरलाग्दो छ, हाम्रा अधिकारीले सही कदम चाले ।’
मेयरको आक्रोश : मिनेसोटाका मेयर ज्याकब फ्रेले भने संघीय सरकारको दाबीलाई पूर्ण रूपमा खारेज गरिदिएका छन् । उनले एक प्रेस सम्मेलनमार्फत आईसले सहरमा सुरक्षाको साटो अराजकता फैलाइरहेको आरोप लगाए । मेयर फ्रेले कडा शब्दमा भने, ‘हामी आप्रवासी र शरणार्थी समुदायको साथमा छौँ । परिवार तोड्ने र मानिस मार्ने काम स्वीकार्य छैन । आईसले तत्काल यो सहर र राज्य छोडोस् ।’
सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाको भिडियो फुटेजले प्रशासनको दाबीमाथि प्रश्न उठाएको छ । सीएनएको रिपोर्टअनुसार भिडियोमा आईसका अधिकारी सडकमा रोकिएको गाडीको ढोका खोल्न आदेश दिइरहेको देखिन्छ । गाडी अगाडि बढ्न खोज्दा अर्का अधिकारीले अत्यन्त नजिकबाट गोली प्रहार गरेको दृश्य कैद भएको छ । तर, गाडीले अधिकारीलाई ठक्कर दिएको वा नदिएको भन्ने विषय भिडियोमा स्पष्ट देखिँदैन । गोली लागेपछि अनियन्त्रित भएको गाडी नजिकैका अन्य सवारीसाधनमा ठोक्किएर रोकिएको थियो ।
घटनालगत्तै सयौँ स्थानीय बासिन्दा र अधिकारकर्मीहरूले आईसको कारबाहीविरुद्ध सडकमा नाराबाजी गरेका छन् । बुधबार साँझ मृतकको सम्झनामा आयोजित शोक सभामा उपस्थित भीडले आप्रवासन एजेन्सीहरूको दमन बन्द गर्न माग गर्दै चर्को विरोध जनाएको छ । स्थानीय नेताहरूले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेका छन् ।








