Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टाेकियो- नाइजेरियाली अधिकारीहरूले गत नोभेम्बरमा बन्दुकधारी समूहद्वारा क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थीलाई मुक्त गराएको राष्ट्रपतिको कार्यालयले आइतबार जनाएको छ । यसअघि यसै महिनाको सुरुआतमा १०० जना विद्यार्थी मुक्त गरिएका थिए ।

“नाइजर राज्यबाट अपहरणमा परेका थप १३० जना विद्यार्थी रिहा गरिएका छन् । अब कोही पनि बन्दी अवस्थामा छैनन्,” राष्ट्रपति कार्यालयका प्रवक्ता सन्डे डेयरले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् ।

गत नोभेम्बरको अन्त्यतिर उत्तर–मध्य नाइजर राज्यको सेन्ट मेरीज सह–शिक्षा आवासीय विद्यालयबाट सयौं विद्यार्थी र कर्मचारी अपहरणमा परेका थिए । यो घटना २०१४ मा बोको हराम समूहले चिबोक सहरबाट विद्यालयका छात्रा अपहरण गरेको घटनासँग तुलना गरिएको थियो ।

पश्चिम अफ्रिकी मुलुक नाइजेरिया हाल विभिन्न सुरक्षा चुनौतीसँग जुधिरहेको छ । उत्तरपूर्वमा जिहादी समूह र उत्तरपश्चिममा सशस्त्र ‘डाँकु’ गिरोह सक्रिय छन् ।

सेन्ट मेरीज विद्यालयबाट कति जना अपहरणमा परे भन्ने तथ्य सुरुदेखि नै स्पष्ट हुन सकेको थिएन । सुरुमा नाइजेरियाको क्रिश्चियन एसोसिएसन (क्यान) ले पापिरी भन्ने ग्रामीण बस्तीमा भएको आक्रमणपछि ३१५ जना विद्यार्थी र कर्मचारी सम्पर्कविहीन भएको जनाएको थियो।

तीमध्ये करिब ५० जना तत्कालै भाग्न सफल भएका थिए। त्यसपछि डिसेम्बर ७ मा सरकारले करिब १०० जनाको रिहाइ सुनिश्चित गरेको थियो । त्यसअनुसार आइतबारको घोषणाअघि करिब १६५ जना अझै बन्दी अवस्थामा रहेको अनुमान गरिएको थियो ।

तर संयुक्त राष्ट्रसंघ स्रोतले एएफपीलाई सबै अपहरितहरू अन्ततः रिहा भएको देखिएको जनाएको छ । सो स्रोतका अनुसार, अपहरणको समयमा कैयौं विद्यार्थी भाग्न सफल भई आफैं घर पुगेका थिए ।

विद्यार्थीहरूका घरहरू ग्रामीण नाइजेरियाका टाढाटाढा क्षेत्रमा छरिएका भएकाले तथ्यांक मिलाउन जटिल भएको उक्त स्रोतले जनाएको छ । कतिपय गाउँसम्म पुग्न मोटरसाइकलमै तीन–चार घण्टा लाग्ने अवस्था छ ।

स्रोतका अनुसार बाँकी रहेका छात्रा तथा माध्यमिक तहका विद्यार्थीहरूलाई सोमबार नाइजर राज्यको राजधानी मिन्ना लगिनेछ । “अन्तिम प्रमाणीकरण गर्न अझै बाँकी छ,” नाइजर राज्यका क्यान प्रवक्ता ड्यानियल आटोरीले एएफपीलाई बताए ।

उनले नाइजर राज्यका गभर्नर मोहम्मद उमरु बागोले विद्यालय सञ्चालन गर्ने कोन्टागोरा धर्मप्रान्तका बिशपसँग सम्पर्क गरी विद्यार्थी र शिक्षकको रिहाइ पुष्टि गरेको तर “संख्या उल्लेख नगरिएको” बताए ।

बालबालिकालाई कसले अपहरण गरेको हो र सरकारले कसरी रिहाइ गरायो भन्ने विषय सार्वजनिक गरिएको छैन । विश्लेषकहरूका अनुसार अघिल्ला घटनाहरूको आधारमा फिरौती तिरेर रिहाइ गराइएको हुनसक्ने अनुमान छ, यद्यपि कानुनले फिरौती तिर्ने कार्यलाई निषेध गरेको छ ।

नाइजेरियामा फिरौतीका लागि अपहरण अपराधी तथा सशस्त्र समूहहरूका लागि छिटो पैसा कमाउने उपाय बनेको छ । तर नोभेम्बरमा भएको सामूहिक अपहरणको शृंखलाले मुलुकको गम्भीर सुरक्षा अवस्थामाथि फेरि ध्यान खिचेको छ ।

त्यस अवधिमा दुई दर्जन मुस्लिम छात्रा, ३८ जना चर्चमा प्रार्थना गरिरहेका श्रद्धालु, एक दुलही र उनका सहेलीसहित किसान, महिला र बालबालिकासमेत अपहरणमा परेका थिए ।

यी घटनाक्रम अमेरिकाबाट कूटनीतिक दबाब बढिरहेका बेला भएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा ख्रिस्टियनमाथि “नरसंहार” सरह सामूहिक हत्या भइरहेको आरोप लगाउँदै सैन्य हस्तक्षेपको चेतावनी दिएका थिए ।

तर नाइजेरिया सरकार र स्वतन्त्र विश्लेषकहरूले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । उनीहरूका अनुसार यस्तो कथन अमेरिका र युरोपका केही ख्रिस्टियन समूहहरूले लामो समयदेखि प्रयोग गर्दै आएका छन् ।

विश्वको ध्यान खिच्ने पहिलो ठूलो अपहरण सन् २०१४ मा भएको थियो, जब बोको हराम जिहादी समूहले उत्तरपूर्वी सहर चिबोकबाट करिब ३०० छात्रालाई अपहरण गरेको थियो ।

एक दशकपछि, नाइजेरियाको फिरौती–केन्द्रित अपहरण संकट “संरचित, नाफामुखी उद्योग”का रूपमा रूपान्तरण भइसकेको लाओसस्थित परामर्श संस्था एसबीएम इन्टेलिजेन्सको हालैको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार जुलाई २०२४ देखि जुन २०२५ बीच यस किसिमका अपहरणबाट करिब १६ लाख ६० हजार अमेरिकी डलर उठाइएको छ।

तपाईको प्रतिक्रिया