टोकियो – जापानमा वर्षको अन्त्यमा कार्यालयहरूले आयोजना गर्ने परम्परागत पार्टी अर्थात् ‘बोनेन्काई’ को समय आएको छ । सहकर्मी र ग्राहकहरूसँग साँझपख जमघट गरेर मनाइने यो परम्परा पछिल्लो समय बदलिँदो क्रममा छ ।
‘द मेन्याची सिम्बुन’ ले यसै सन्दर्भमा गरेको एक विश्लेषण अनुसार, यस पटकको बोनेन्काईमा मानिसहरूको रुचि र सहभागिताको शैलीमा अनौठो परिवर्तन देखिएको छ । हट पेपर ग्यास्ट्रोनोमी रिसर्च इन्स्टिच्युटले गरेको एक सर्वेक्षण (१०३५ जनामा आधारित) अनुसार, कार्यालयको पार्टीमा सहभागी हुन चाहनेहरूको संख्या निकै कम देखिएको छ ।
केवल ३७ प्रतिशत कर्मचारीले मात्र यस्ता पार्टीमा जाने इच्छा व्यक्त गरेका छन् । इन्स्टिच्युटका निर्देशक नाओकी तनाका भन्छन्, ‘कोभिड-१९ महामारीपछि कार्यालयका पार्टीहरू अब ‘अनिवार्यता’बाट ‘विकल्प’मा परिणत भएका छन् ।’
सर्वेक्षणको नतिजाले एउटा रोचक पुस्तान्तर देखाएको छ । ५० र ६० को उमेर समूहका करिब ७० प्रतिशत कर्मचारीले पार्टीमा जान अनिच्छा देखाएका छन् । तर, ठीक विपरित २० र ३० को उमेर समूहका ४० प्रतिशतभन्दा बढी युवाहरू भने बोनेन्काईमा सहभागी हुन उत्साहित छन् । विज्ञहरूका अनुसार, विद्यार्थी जीवनमा कोभिडका कारण रमाइलो गर्न नपाएको अहिलेको युवा पुस्ता सामाजिक जमघटप्रति बढी आकर्षित भएको हो ।
पार्टीको समय तालिकामा पनि परिवर्तन आएको छ । धेरैजसोले साँझ चाँडै सकेर घर फर्कने चाहना राखेका छन् भने अबेर रातिसम्म पार्टी गर्ने चलन घट्दै गएको छ । अझ चाखलाग्दो कुरा त, अबेर रातिको साटो ‘दिउँसोको लन्च’ समयमा पार्टी गर्न रुचाउनेहरूको संख्या बढ्दो छ । दिउँसोको समयले कर्मचारीको निजी समयमा असर नपार्ने र मादक पदार्थ नहुँदा दुर्व्यवहारको जोखिम पनि कम हुने भएकाले यो शैली लोकप्रिय बन्दै गएको हो ।








