समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुसार सरकारलाई शक्ति हस्तान्तरण गर्न आफूहरू आतुर रहेको बताएकी छन्। ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले गत भदौ २३ र २४ गते भएको जेन–जी युवाहरूको आन्दोलनपछि देशमा नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले हाल सरकार सुशासन र निर्वाचनलाई मुख्य एजेन्डा बनाएर अघि बढिरहेको बताएकी छन्। आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार अहोरात्र तयारीमा जुटेको पनि उनले बताइन्। निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ।
संविधान, लोकतान्त्रिक प्रक्रिया र सुशासनको बाटोमा देशलाई सुरक्षित रूपमा अघि बढाउने एकमात्र उपाय निर्वाचन भएको भन्दै प्रधानमन्त्री कार्कीले समाजमा अराजकता फैलिन नदिन सबै सचेत हुनुपर्नेमा जोड दिएकी छिन्।








