टोकियो – जापान सरकारले विदेशी नागरिकहरूको घरजग्गा स्वामित्व मूल्यांकन गर्न नयाँ मापदण्ड तयार गरेको छ । विदेशी नागरिकसम्बन्धी नीतिहरूको पुनरावलोकन गर्ने क्रममा सरकारले यो कदम चालेको हो ।
सरकारले मंगलबार सार्वजनिक गरेको योजनाअनुसार, अब घरजग्गाको नयाँ स्वामित्व दर्ता गर्दा वा वन क्षेत्रको जग्गा खरिदको विवरण बुझाउँदा सम्बन्धित व्यक्तिले आफ्नो राष्ट्रियता अनिवार्य रूपमा खुलाउनुपर्नेछ । राष्ट्रिय सुरक्षाका दृष्टिले संवेदनशील मानिने क्षेत्रमा कुनै संस्था वा कर्पोरेसनले घरजग्गा तथा वन क्षेत्र खरिद गर्न चाहेमा नियम अझ कडा बनाइएको छ । विशेष गरी ‘सेल्फ-डिफेन्स फोर्स’ (जापानी सेना) का बेस क्याम्पहरू नजिकका जग्गा खरिद गर्दा कम्पनीको प्रतिनिधिको राष्ट्रियता लगायतका विस्तृत विवरण दर्ता गराउनुपर्नेछ ।
नयाँ मापदण्डले जापानमा बसोबास नगर्ने व्यक्ति (नन-रेसिडेन्ट) र विदेशी कम्पनीहरूका लागि रिपोर्टिङको दायरालाई फराकिलो बनाएको छ । हालको व्यवस्थाअनुसार लगानीका उद्देश्यले किनिने सम्पत्तिको मात्र जानकारी सरकारलाई गराउनुपर्ने प्रावधान छ । तर, नयाँ नियम लागू भएपछि आवासीय प्रयोजनका लागि खरिद गरिने घरजग्गाको विवरण पनि सरकारलाई बुझाउनुपर्नेछ । सम्बन्धित अधिकारीहरूका अनुसार यी नयाँ उपायहरू आगामी अप्रिल महिना वा त्यसपछि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।
यसैगरी, जापानी सरकारले विदेशी नागरिकहरूसम्बन्धी आफ्नो समग्र आधारभूत नीति अर्को महिना तयार गर्ने योजना बनाएको छ । यस पुनरावलोकनमा अध्यागमन नियन्त्रण, बसोबासको अनुमति प्रणाली, जापानी नागरिकता प्राप्तिका लागि शर्तहरूमा कडाइ तथा विदेशीहरूले तिर्न बाँकी सार्वजनिक स्वास्थ्य बीमा र चिकित्सा शुल्क असुली जस्ता विषयहरूमा छलफल गरिने जनाइएको छ ।








