समाचार सुन्नुहोस :
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ। मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले पुस ८ गतेदेखि यो सेवा सुरु हुने जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर यो प्रणाली लागू गर्न लागिएको हो।
उनका अनुसार श्रमिकलाई आधिकारिक सूचना उपलब्ध गराई सुरक्षित निर्णय लिन सहयोग गर्ने उद्देश्यले देशभरका ७५३ स्थानीय तहका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर यो सेल स्थापना गरिएको छ। कार्यालय समयमा यी सबै स्थानबाट सेवा लिन सकिनेछ।
सेलको मुख्य उद्देश्य श्रमिकलाई राज्यको आधिकारिक सूचनामा आधारित निर्णय गर्न सक्षम बनाउनु, डिजिटल माध्यमबाट फैलिने ठगी र झुटा प्रलोभनबाट जोगाउनु तथा वैदेशिक रोजगारलाई सुरक्षित बनाउनु हो। पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण प्रचार रोक्न यो सेवा प्रभावकारी हुने मन्त्रालयको विश्वास छ।
‘हेल्प टु हेल्प १० सेल’ मार्फत रोजगारीको माग, आधिकारिक म्यानपावर, योग्यता, खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि र सम्पर्क ठेगानासम्बन्धी १० प्रमुख जानकारी प्राप्त गर्न सकिनेछ। साथै, मन्त्रालयले पुस १ देखि ७ गतेसम्म ‘श्रम आप्रवासनका चक्रमा सुशासन’ नारासहित २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस साप्ताहव्यापी रूपमा मनाउने जनाएको छ।








