Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको मिए प्रिफेक्चर अन्तर्गत सुजुका सहरमा ट्याक्सी भाडा नतिरी उल्टै चालकमाथि हातपात गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ४० वर्षीया ब्राजिलियन मूलकी ती महिलाले ५४ वर्षीय ट्याक्सी चालकलाई कुटपिट गरेकी हुन् ।

घटना आइतबार बिहान करिब १ बजेतिर भएको हो । प्रहरीका अनुसार, आकी दे सौजा नाम गरेकी ती महिलाले इसोयामा स्टेसनबाट किन्तेत्सु हिरातामाची स्टेसनसम्म ट्याक्सी चढेकी थिइन् । गन्तव्यमा पुगेपछि उनले चालकलाई ‘मसँग अहिले पैसा छैन, म भोलि तिर्छु’ भन्दै भाडा दिन मानिनन् ।

ती महिलाले पैसा नदिएपछि चालकले उनलाई ट्याक्सीभित्रै बस्न आग्रह गर्दै गाडी नजिकैको प्रहरी चौकीतर्फ मोडेका थिए । तर, ट्राफिक लाइटमा रातो बत्ती बलेर गाडी रोकिँदा ती महिला एक्कासि ढोका खोलेर भागिन् । चालकले उनलाई लखेटेर समात्न खोज्दा उनले चालकको अनुहार र शरीरको माथिल्लो भागमा पटक-पटक मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्दा ती महिला अत्यधिक मादक पदार्थको नसामा रहेको र उनको साथमा जम्मा ६५ जापानी येन मात्र फेला परेको प्रहरीले बताएको छ । प्रहरी समक्ष बयान दिँदै उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन् । उनले भनिन्, ‘मलाई यसबारे केही थाहा छैन र मैले त्यस्तो केही गरेकी छैन ।’

आक्रमणबाट ट्याक्सी चालकलाई गम्भीर चोट भने नलागेको प्रहरीले पुष्टि गरेको छ। हाल ती महिलाको ठेगाना र पेसा खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया