समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १६ दलका शीर्ष नेता तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ। विभिन्न देशका कूटनीतिक नियोगबाट शुभकामना सन्देश प्राप्त भइरहेको जनाइएको छ।
महाधिवेशनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन २४ जनसङ्गठनका प्रतिनिधिसहित १० हजार स्वयंसेवक परिचालन गरिनेछ। मञ्चमा चाँगुनारायण मन्दिरको प्रतीकात्मक संरचना निर्माण गरिएको छ भने टाढाबाट देख्न र सुन्न सहज होस् भनेर एलइडी स्क्रिन र उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत झन्डा फहराउँदै महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।








