Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – डेटिङ एपमार्फत भेटिएका एक पुरुषले आफू विवाहित भएको तथ्य लुकाएर एक महिलासँग यौन सम्बन्ध राखेपछि जापानको अदालतले ती पुरुषलाई कारबाही गरेको छ । टोकियो जिल्ला अदालतले पीडित महिलाको ‘सतीत्वको अधिकार’ उल्लङ्घन भएको ठहर गर्दै ती पुरुषलाई १५ लाख १० हजार जापानी येन (करिब १३ लाख ५० हजार नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

ती महिला र पुरुषको भेट डेटिङ एपमार्फत भएको थियो । उनीहरूबीच करिब चार महिनासम्म प्रेम र यौन सम्बन्ध रह्यो । पछि पुरुषले अचानक सम्पर्क विच्छेद गरेपछि शङ्का लागेर महिलाले निजी जासुस (प्राइभेट इन्भेस्टिगेटर) प्रयोग गरिन् । अनुसन्धानबाट ती पुरुष विवाहित भएको र उनका छोराछोरी समेत रहेको रहस्य खुल्यो ।

जापानी कानुनमा ‘सतीत्वको अधिकार’ भन्नाले ‘यौन आत्म-निर्णयको अधिकार’ लाई बुझाउँछ । यसको अर्थ, हरेक व्यक्तिलाई यौन सम्बन्ध राख्ने वा नराख्ने भन्ने विषयमा सुसूचित निर्णय गर्ने अधिकार हुन्छ । अदालतको फैसला अनुसार, सहमतिमै यौन सम्बन्ध भए पनि यदि एक पक्षले आफ्नो वैवाहिक हैसियत वा अन्य महत्त्वपूर्ण जानकारी ढाँटेर सहमति लिएको हो भने त्यो ‘अमान्य’ हुन्छ । यद्यपि, यसमा कुनै भौतिक दबाब वा धम्की नभएकाले यसलाई बलात्कार नभई ‘देवानी मुद्दा’ को रूपमा हेरिएको हो ।

मुद्दा जित्नुको मुख्य कारण महिलाको डेटिङ एप प्रोफाइल थियो । उनले आफ्नो प्रोफाइलमा ‘विवाहित पुरुषसँग डेट नगर्ने’ स्पष्ट उल्लेख गरेकी थिइन् । पुरुषले यो देख्दादेख्दै पनि आफ्नो वास्तविकता लुकाएर सम्बन्ध अघि बढाएकाले अदालतले यसलाई ‘दुर्भावनापूर्ण मनसाय’ मानेको छ । पीडित महिलाले सुरुमा ७८ लाख येन माग दाबी गरे पनि सम्बन्धको छोटो अवधि र गर्भधारण नभएको जस्ता कारणले गर्दा अदालतले १५ लाख १० हजार येन मात्र क्षतिपूर्ति तोकेको हो ।

तपाईको प्रतिक्रिया