टोकियो – जापान भ्रमणमा आउने विदेशी पर्यटकहरूलाई यात्रा योजना, आरक्षण र ‘रुट’ खोजी लगायतका सुविधाहरू प्रदान गर्दै आएको एक ट्राभल एपले जापानको प्रतिष्ठित सेवा पुरस्कार जितेको छ । विदेशी आगन्तुकहरूका लागि सार्वजनिक यातायातको विस्तृत समयतालिका र १३ वटा विभिन्न भाषामा सूचना प्रवाह गर्ने जस्ता उत्कृष्ट सेवा प्रदान गरेबापत ‘जापान ट्राभल बाई नाभिटाइम’ले ‘निहोन सर्भिस अवार्ड’ अन्तर्गतको सर्वोच्च पुरस्कार ‘प्रधानमन्त्री अवार्ड’ प्राप्त गरेको हो ।
मंगलबार टोकियोमा आयोजित एक विशेष समारोहका बीच नाभिटाइम जापान कम्पनीका अध्यक्ष केसुके ओनिसीले जापानी प्रधानमन्त्री सानाय ताकाइचीको बाहुलीबाट उक्त पुरस्कार ग्रहण गरे । सो अवसरमा अध्यक्ष ओनिसी र प्रधानमन्त्री ताकाइचीले संयुक्त तस्बिर समेत खिचाएका थिए । जापान प्रोडक्टिभिटी सेन्टरका अनुसार, यो एप नेभिगेसन प्रविधि र सेवाहरूमा अग्रणी मानिने टोकियोस्थित ‘नाभिटाइम जापान कम्पनी’ द्वारा सञ्चालित छ ।
सन् २०१५ मा स्थापना भएको यो सरकारी सहयोग प्राप्त पुरस्कारमा ‘प्रधानमन्त्री अवार्ड’ बाहेक अन्य विभिन्न विधाहरू पनि समावेश छन् । सेवा प्रदायक र सेवाग्राहीबीचको सहकार्यमार्फत मूल्य मान्यता सिर्जना गर्ने देशका जुनसुकै व्यवसाय (नाफामूलक वा गैरनाफामूलक) ले यो पुरस्कारका लागि प्रतिस्पर्धा गर्न सक्ने प्रावधान रहेको छ । यो पुरस्कार वितरण गरिएको यो पाँचौं संस्करण हो । यसअघि सन् २०२२ मा यो अवार्ड प्रदान गरिएको थियो ।








