टोकियो – युनिफिकेसन चर्चको जापानी शाखाका प्रमुख तोमिहिरो तानाकाले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । चर्चले अबलम्बन गरेको विवादास्पद चन्दा संकलन शैलीप्रति क्षमायाचना गर्दै उनले तत्काल लागू हुने गरी पदत्याग गरेका हुन् ।
टोकियोस्थित समूहको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तानाकाले चर्चको आक्रामक चन्दा संकलनबाट पीडित भएकाहरूको क्षतिपूर्ति दाबी सम्बोधन गर्न अक्टोबरमा तेस्रो पक्षीय समिति गठन भएपछि आफूले राजीनामा दिने निर्णय गरेको बताए । उनको यो राजीनामा गत महिना टोकियो उच्च अदालतमा संस्था विघटनको आदेशसम्बन्धी सुनुवाइ सकिएको पृष्ठभूमिमा आएको हो ।
सन् २०२२ को जुलाईमा जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्यापछि चर्चको चन्दा संकलन कार्य सार्वजनिक बहस र विवादको केन्द्रमा आएको थियो। आबेका हत्यारा तेत्सुया यामागामीले आफ्नी आमाले चर्चलाई ठूलो रकम चन्दा दिँदा आफ्नो परिवार आर्थिक रूपमा टाट पल्टिएको र जीवन बर्बाद भएको दाबी गरेका थिए ।
अनुसन्धान स्रोतका अनुसार, यामागामीले आबेलाई निशाना बनाउनुको कारण आबेका हजुरबुबा तथा पूर्व प्रधानमन्त्री नोबुसुके किशीले युनिफिकेसन चर्चलाई जापान भित्र्याउन मद्दत गरेको भन्ने बुझाइ रहेको बताएका थिए । तथ्यांक अनुसार, सन् १९८० को दशकयता यो समूहले १,५०० भन्दा बढी व्यक्तिहरूबाट करिब २०.४ अर्ब येन (करिब १३ करोड अमेरिकी डलर) बराबरको चन्दा संकलन गरेको छ । यसरी संकलित रकम र त्यसका लागि अपनाइएको विधिले जापानमा ठूलो कानुनी र सामाजिक प्रश्न खडा गरेको छ ।
होक्काइडोका स्थायी बासिंदा रहेका तानाकाले सन् २०२० को अक्टोबरदेखि समूहको अध्यक्ष पद सम्हाल्दै आएका थिए । तानाकाको राजीनामासँगै चर्चका पूर्व उपाध्यक्ष मासाइची होरीलाई उत्तराधिकारीका रूपमा नियुक्त गरिएको छ । होरी ‘दोस्रो पुस्ताका अनुयायी’ अर्थात् युनिफिकेसन चर्चका सदस्यका सन्तान हुन् ।
युनिफिकेसन चर्चको स्थापना सन् १९५४ मा दक्षिण कोरियामा एक कट्टर कम्युनिष्ट विरोधी अभियानकर्ताद्वारा गरिएको थियो । यसले सन् १९६४ मा जापानमा धार्मिक संस्थाको मान्यता प्राप्त गरेको थियो ।








