Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – पश्चिमी जापानको एक फेरी सञ्चालक कम्पनीले चिनियाँ पक्षको अनुरोधमा जापान र चीनबीचको यात्रुवाहक फेरी सेवा तत्कालका लागि स्थगित गरेको छ । ओसाका सहरमा मुख्यालय रहेको ‘जापान-चीन इन्टरनेसनल फेरी’ ले कोबे वा ओसाकाबाट शाङ्घाईसम्म नियमित रूपमा ‘जियान जेन हाओ’ नामक जहाजमार्फत सेवा सञ्चालन गर्दै आएको थियो । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै यात्रुवाहक सेवा रोक्नुपरेको जानकारी दिएको हो ।

कम्पनीका अनुसार चिनियाँ सञ्चालक पक्षले गत बिहीबार जापान र चीनबीचको यात्रामा सुरक्षाको ग्यारेन्टी गर्न नसकिने जनाएको थियो । सोही कारण देखाउँदै सेवा स्थगन गरिएको हो । यद्यपि, कार्गो (सामान ढुवानी) सेवा भने पूर्ववत रूपमै सञ्चालन हुने जनाइएको छ । जापान-चीन इन्टरनेसनल फेरीका अध्यक्ष मुराकामी कोइचीले चिनियाँ पक्षको यो आकस्मिक निर्णयले आफ्नो कम्पनी अन्योलमा परेको बताएका छन् । उनले यो सेवा चाँडै पुनः सञ्चालन हुने आशा समेत व्यक्त गरे ।

समाचार अनुसार चिनियाँ पक्षको यो निर्णयलाई राजनीतिक असन्तुष्टिसँग जोडेर हेरिएको छ । जापानी प्रधानमन्त्री ताकाइची सानाएले गत महिना जापानी संसद (डायट) मा ‘ताइवान आपतकाल’को सम्भावनाबारे दिएको अभिव्यक्तिको प्रतिक्रियास्वरूप चीनले यो कदम चालेको हुनसक्ने विश्लेषण गरिएको छ ।

सन् १९८५ बाट सुरु भएको यो ऐतिहासिक फेरी सेवा कोरोना भाइरस महामारी र अन्य विविध कारणले लामो समय बन्द थियो । करिब साढे पाँच वर्षको अन्तरालपछि गत जुन महिनामा मात्रै यो सेवा पुनः सुचारु भएको थियो । तर, सुचारु भएको केही महिनामै पुनः सेवा अवरुद्ध हुन पुगेको छ ।

तपाईको प्रतिक्रिया