Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – सामान्यतया सरकारी कार्यालय वा नगरपालिकाले आफ्ना नागरिकका समस्या सुन्ने र समाधान गर्ने गर्छन् । तर, जापानको आइची प्रिफेक्चरस्थित मिहामा सहरमा भने ठिक उल्टो घटना भएको छ । त्यहाँको नगरपालिकाले आफ्नै एक बासिन्दाको व्यवहारबाट आजित भएर उनीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ ।

मिहामा नगरपालिकाका लागि ६० वर्षका एक पुरुष टाउको दुखाइको विषय बनेका छन् । सन् २०२० मा ती व्यक्तिले आफ्नो निजी सम्पत्तिमा भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न नगरपालिकाबाट अनुदान (सब्सिडी) माग गरेका थिए । तर, उनका भवनहरू सहरका लागि साँस्कृतिक महत्त्वका नभएको भन्दै नगरपालिकाले नियमअनुसार अनुदान दिन नमिल्ने जानकारी गरायो ।

सामान्य मानिसले यसलाई स्वीकार गरेर बाटो लाग्थे होलान्, तर ती वृद्धले यसलाई प्रतिष्ठाको विषय बनाए। त्यसपछि सुरु भयो नगरपालिकाका कर्मचारीमाथि निरन्तरको मानसिक उत्पीडन ।

५ वर्षसम्म निरन्तर दुर्व्यवहार
विगत पाँच वर्षदेखि ती व्यक्तिले नगरपालिकामा लगभग हरेक दिन फोन गर्ने र कार्यालयमै पुगेर कर्मचारीलाई थर्काउने गरिरहेका छन् । उनले कर्मचारीहरूलाई ‘मुर्ख’ भन्दै गाली गर्ने, हाकिम (सुपरभाइजर) सँग मात्र कुरा गर्छु भन्ने र अझ पुरुष कर्मचारीसँग कुरा नगरी ‘महिला कर्मचारी नै चाहियो’ भन्दै लैङ्गिक रूपमा आपत्तिजनक र अतार्किक मागहरू राख्ने गरेका थिए ।

यस वर्षको अप्रिलदेखि नोभेम्बरसम्मको ७ महिनाको छोटो अवधिमा मात्रै उनले नगरपालिकाका विभिन्न विभागमा ८०० भन्दा बढी पटक फोन र पत्र पठाएको तथ्याङ्क छ । उनी कर्मचारीसँग घण्टौँसम्म बहस गर्थे, जसले गर्दा कर्मचारीको काम गर्ने समय बर्बाद हुन्थ्यो र उनीहरू गम्भीर मानसिक तनावमा पर्थे ।

सहने सीमा नाघेपछि कानुनी बाटो
जापानमा पछिल्लो समय ग्राहक वा सेवाग्राहीले कर्मचारीलाई गर्ने दुर्व्यवहार एउटा ठूलो समस्या बन्दै गएको छ । यसलाई नियन्त्रण गर्ने कडा कानुन नभएको अवस्थामा मिहामा नगरपालिकाले आफैँ एउटा ऐतिहासिक निर्णय गर्यो ।

नगर सभाले ‘अत्यधिक गुनासो र दुर्व्यवहार गर्नेविरुद्ध मुद्दा चलाउन सक्ने” प्रस्ताव सर्वसम्मतले पारित गर्यो । सोही प्रस्तावमा टेकेर नगरपालिकाले ती व्यक्तिविरुद्ध ४० लाख जापानी येन (करिब २५,००० अमेरिकी डलर) क्षतिपूर्तिको माग गर्दै मुद्दाको तयारी थालेको छ । यो रकम ती व्यक्तिका कारण कर्मचारीको बर्बाद भएको समय र तलबको अनुमानित हिसाब गरेर तय गरिएको हो ।

नगरपालिकाले ४० लाख येनको मुद्दा हाल्ने खबर सार्वजनिक हुनासाथ ती वृद्धले एक्कासि फोन गर्न र सताउन बन्द गरेका छन् । मिहामा टाउन हलले भनेको छ, ‘यदि उनको व्यवहारमा सुधार आयो भने हामी मुद्दा अगाडि बढाउने छैनौँ ।’

तपाईको प्रतिक्रिया