टोकियो – जापानका रक्षामन्त्री कोइजुमी सिन्जिरोले चिनियाँ सैन्य विमानले जापानी लडाकु विमानमाथि राडार सोझ्याएको (राडार लक गरेको) घटनाप्रति पुनः गम्भीर चिन्ता व्यक्त गरेका छन् । शनिबार दक्षिणी जापानको ओकिनावास्थित मुख्य टापु नजिकैको अन्तर्राष्ट्रिय जलक्षेत्रमा चिनियाँ सेनाले जापानी एयर सेल्फ डिफेन्स फोर्सका विमानहरूलाई लक्षित गर्दै राडार प्रयोग गरेको थियो ।
मंगलबार पत्रकारहरूसँग कुरा गर्दै रक्षामन्त्री कोइजुमीले सामान्यतया खोजी कार्यका लागि प्रयोग गरिने राडार यसरी पटक-पटक लक्ष्य गरेर प्रयोग नगरिने स्पष्ट पारे । उनले चिनियाँ पक्षको यो गतिविधिलाई ‘खतरनाक कार्य’ भन्दै टिप्पणी गरेका छन् । कोइजुमीले चीनको नौसैनिक अभ्याससँग सम्बन्धित उडान र नेभिगेसन (परिवहन) सम्बन्धी कुनै पनि जानकारी जापानलाई अग्रिम रूपमा नदिइएको दाबीसमेत गरे ।
जापानले घटना सार्वजनिक गरेलगत्तै चीनले त्यसको कडा प्रतिवाद गरेको छ । बेइजिङले उक्त क्षेत्रमा भइरहेको आफ्नो नियमित सैन्य अभ्यासमा उल्टै जापानले अवरोध पुर्याएको आरोप लगाएको छ ।
यसै सन्दर्भमा जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले सोमबार सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘अमेरिका-जापान गठबन्धन पहिलेभन्दा अझ बलियो र एकजुट छ ।’
रक्षामन्त्री कोइजुमीले अमेरिकी राजदूतको उक्त भनाइलाई उद्धृत गर्दै सन्देशको समय (टाइमिङ) निकै अर्थपूर्ण रहेको बताए । उनले भने, ‘यसले द्विपक्षीय गठबन्धन सधैं एक ‘प्रतिरोधक’को रूपमा काम गरिरहेको पुष्टि गर्छ ।’








