Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – अन्य मुलुकहरूको तुलनामा जापानमा लागुऔषध दुर्व्यसनको संस्कृति खासै व्यापक मानिँदैन । तर, पछिल्लो समय यहाँको समाजमा एउटा नयाँ र घातक नसालु पदार्थले प्रवेश पाएको छ, जसलाई सञ्चारमाध्यम र सर्वसाधारणले ‘जोम्बी चुरोट’को नाम दिएका छन् । यो नयाँ चुनौती सामना गर्न अहिले जापानी प्रहरीले कडा निगरानी सुरु गरेको छ ।

के हो ‘जोम्बी चुरोट’ ?
जापानी सञ्चारमाध्यम र सुरक्षा अधिकारीहरूले यसलाई ‘जोम्बी टोबाको’ वा ‘जोम्बी चुरोट’ भन्ने गरे तापनि यसका अन्य बजारिया नामहरू ‘जोम्बी जुस’, ‘के-पड्स’, ‘स्पेस ओयल’ र ‘लाफिङ ग्यास’ पनि हुन् । तर, यसमा प्रयोग हुने मुख्य रसायनको वास्तविक नाम भने ‘इटोमिडेट’ हो ।

इटोमिडेट चिकित्सा विज्ञानमा प्रयोग हुने एक शक्तिशाली एनेस्थेटिक (बेहोस बनाउने औषधि) हो । यसले बिरामीलाई सेकेन्डभरमै बेहोस बनाउन सक्छ । यसको असर छोटो समयका लागि मात्र रहने भएकाले अस्पतालको इमर्जेन्सी कक्षमा बिरामीलाई तत्काल बेहोस बनाउन यसको प्रयोग गरिन्छ, जसबाट बिरामी केही मिनेटमै पुनः होसमा आउँछन् ।

किन भनियो ‘जोम्बी’ ?
हङकङ र सिंगापुरजस्ता दक्षिणपूर्वी एसियाली क्षेत्रमा मनोरञ्जनात्मक लागुऔषधको रूपमा यसको प्रयोग बढ्दो छ । तर, यसको असर निकै डरलाग्दो हुन्छ । अन्य लागुऔषधले दिने ‘यूफोरिया’ (आनन्द वा उत्साह) को साटो यसले सेवनकर्तालाई सिधै बेहोस बनाउँछ ।

सेवन गरेपछि मानिसको शरीरमाथिको नियन्त्रण गुम्छ, मांसपेसीहरू अनियन्त्रित रूपमा खुम्चिने र काम्ने हुन्छ । यस्तो अवस्थामा मानिसको हाउभाउ डरावना चलचित्रका ‘जोम्बी’ जस्तो देखिने हुनाले यसलाई ‘जोम्बी’ उपनाम दिइएको हो ।

कानुनी प्रतिबन्ध र गिरफ्तारी
यो नसालु पदार्थ जापानको दक्षिणी क्षेत्र, विशेष गरी ओकिनावा टापु हुँदै भित्रिएको पाइएको छ । यसको जोखिमलाई मध्यनजर गर्दै जापानी सरकारले गत मे महिनामा इटोमिडेटलाई ‘निर्दिष्ट लागुऔषध’को सूचीमा सूचीकृत गरेको छ ।

यससँगै जापानमा यसको मनोरञ्जनात्मक प्रयोग, बिक्री र ओसारपसारलाई पूर्ण रूपमा गैरकानुनी घोषणा गरिएको छ । प्रतिबन्ध लागेयता जापानमा इटोमिडेट राखेको अभियोगमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया