-
टोकियोमा सम्पन्न दोस्रो अधिवेशनले दीपक केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
टोकियो – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवासी संगठन ‘प्रवासी नेपाली सम्पर्क विभाग जापान’ ले नयाँ नेतृत्व पाएको छ । टोकियोमा सम्पन्न संगठनको दोस्रो अधिवेशनले दीपक केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले जापानमा रहेका नेपालीहरूको हक, हित र अधिकारका पक्षमा आवाज बुलन्द पार्ने संकल्पसहित केसीको नेतृत्वमा जुझारु टिम खडा गरेको छ । नवनिर्वाचित कार्यसमितिको सचिव पदमा नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सदस्य समेत रहेका कविकिरण न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । सामाजिक तथा सञ्चार क्षेत्रमा सक्रिय न्यौपानेको प्रवेशले संगठनलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।
समितिको उपप्रमुखमा भोजेन्द्र सुवेदी र सुरेश केसी चयन भएका छन् भने सहसचिवको जिम्मेवारी फडिन्द्र सुवेदीले पाएका छन्। यसैगरी, कोषाध्यक्षमा भेषनाथ गौतम र सहकोषाध्यक्षमा चतुर्भुज सापकोटालाई जिम्मेवारी सुम्पिएको छ ।
कार्यसमिति सदस्यहरूमा मेघराज गौतम, यमप्रसाद भुसाल, रुपेन्द्र वली, श्रीकान्त घिमिरे र सरोज पौडेल चयन भएका छन् । नवनिर्वाचित समितिले प्रवासमा रहेका नेपालीको पहिचान स्थापित गर्दै उनीहरूका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।








