Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – ओकिनावा प्रिफेक्चरको दक्षिणपूर्वमा अवस्थित अन्तर्राष्ट्रिय जलक्षेत्रमा चिनियाँ सेनाका लडाकु विमानहरूले जापानी ‘सेल्फ-डिफेन्स फोर्स’का विमानहरूमाथि ‘फायर-कन्ट्रोल राडर’ लक गरेको घटना सार्वजनिक भएको छ ।

जापानको रक्षा मन्त्रालयले आइतबार उक्त जानकारी दिँदै घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यो घटनासँगै दुई छिमेकी मुलुकबीचको सम्बन्धमा थप चिसोपना आएको छ, यद्यपि बेइजिङले भने जापानी दाबीलाई अस्वीकार गरेको छ । जापानी प्रधानमन्त्री सानाय ताकाइचीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै चिनियाँ पक्षको यो गतिविधिलाई अत्यन्त खेदजनक र खतरनाक कार्यको संज्ञा दिएकी छिन् ।

उनले जापानले यस विषयमा चिनियाँ पक्षसँग “कडा विरोध” जनाएको र यस्ता घटना पुनः दोहोरिन नदिन कडा कदम चाल्न माग गरेको बताइन् । भूकम्प प्रभावित इसिकावा प्रिफेक्चरको नोटो क्षेत्रको भ्रमणका क्रममा बोल्दै प्रधानमन्त्री ताकाइचीले भनिन्, ‘हामी जापान वरपरका जलक्षेत्र र हवाई क्षेत्रमा चिनियाँ सेनाका गतिविधिहरूलाई नजिकबाट नियालिरहनेछौं ।’

के हो घटना ?
रक्षा मन्त्रालयका अनुसार, चिनियाँ विमानवाहक पोत ‘लियाओनिङ’ बाट उडेका J-15 लडाकु विमानहरूले शनिबार जापानी F-15 लडाकु विमानहरूमा पटक-पटक राडर सोझ्याएका थिए । सम्भावित हवाई घुसपैठको जवाफमा जापानले आफ्ना F-15 विमानहरूलाई आकस्मिक उडानका लागि पठाएको थियो । यो घटना चिनियाँ विमानवाहक पोत र तीन क्षेप्यास्त्र विध्वंसक जहाजहरूले अभ्यास गरिरहेको समयमा भएको हो ।

रक्षामन्त्री सिन्जिरो कोइजुमीले आइतबार बिहान जानकारी दिँदै घटनामा कुनै पनि कर्मचारी घाइते नभएको र विमानमा क्षति नपुगेको स्पष्ट पारेका छन् । उनका अनुसार शनिबार दुई पटक राडर लक गरिएको थियो: पहिलो पटक अपराह्न ४:३२ देखि ४:३५ सम्म र दोस्रो पटक साँझ ६:३७ देखि ७:०८ सम्म ।

अर्कोतर्फ, चीनले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै यस मुठभेडको सम्पूर्ण दोष जापानमाथि थोपरेको छ । बेइजिङले आफूले प्रशिक्षण क्षेत्रबारे पहिले नै घोषणा गरिसकेको दाबी गर्दै जापानी पक्षले नै व्यवधान खडा गरेको संकेत गरेको छ ।

तपाईको प्रतिक्रिया