Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको एक प्रतिष्ठित निजी विश्वविद्यालय, वासेदा विश्वविद्यालयले विदेशी विद्यार्थीहरूका लागि शिक्षण शुल्क (ट्युसन फी) बढाउने तयारी गरेको छ । विदेशी विद्यार्थीको व्यवस्थापन र सहयोगमा लाग्ने खर्चमा वृद्धि भएपछि विश्वविद्यालयले शुल्क बढाउने विषयमा छलफल अघि बढाएको हो ।

गत वर्षको मार्च महिनाको तथ्यांक अनुसार, टोकियोस्थित वासेदा विश्वविद्यालयमा ५ हजार ५ सय ६२ जना विदेशी विद्यार्थी अध्ययनरत छन्, जुन जापानका अन्य कुनै पनि विश्वविद्यालयको तुलनामा सबैभन्दा धेरै हो । हालसम्म वासेदामा जापानी र विदेशी विद्यार्थीहरूका लागि समान शिक्षण शुल्क कायम छ ।

विश्वविद्यालयका अधिकारीहरूका अनुसार विदेशी विद्यार्थीहरूलाई जापानी भाषा शिक्षा, आवास सुविधा तथा अन्य विविध किसिमका सहयोग उपलब्ध गराउन विद्यालयले अतिरिक्त खर्च व्यहोर्नुपर्ने हुन्छ । सोही खर्च व्यवस्थापन गर्नका लागि विदेशी विद्यार्थीहरूबाट बढी शुल्क लिने योजनामा विश्वविद्यालय रहेको छ । शुल्क कहिलेदेखि र कति प्रतिशतले बढाउने भन्ने विषयमा अहिले छलफल भइरहेको अधिकारीहरूले बताएका छन् ।

अन्य विश्वविद्यालयमा पनि असर पर्न सक्ने
शिक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार धेरै विश्वविद्यालयहरूले शुल्क वृद्धिको सम्भावनाबारे परामर्श लिइरहेका छन् । यदि वासेदा विश्वविद्यालयले शुल्क बढाउने निर्णय गरेमा जापानका अन्य धेरै विश्वविद्यालयहरूले पनि सोही बाटो पछ्याउने सम्भावना रहेको छ ।

जापानको शिक्षा मन्त्रालयले गत वर्ष नै राष्ट्रिय विश्वविद्यालयहरूका लागि विदेशी विद्यार्थीको शुल्कको अधिकतम सीमा (क्याप) हटाइसकेको छ । यसअघि नै तोहोकु विश्वविद्यालयले जापानी विद्यार्थीको तुलनामा विदेशी विद्यार्थीको शुल्क १.७ गुणाले बढाउने घोषणा गरिसकेको छ भने हिरोसिमा विश्वविद्यालयले पनि भविष्यमा शुल्क बढाउने निर्णय गरेको छ ।

पश्चिमा मुलुकहरूको तुलनामा जापानी विश्वविद्यालयहरूको शिक्षण शुल्क अझै पनि कम छ । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्वदेशी विद्यार्थीको तुलनामा करिब ३.४ गुणा बढी शुल्क तिर्छन् भने बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा यो दर करिब ३ गुणा बढी छ ।

तपाईको प्रतिक्रिया