समाचार सुन्नुहोस :
काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार तोकिएको समयमै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मंगलबार बोल्दै उनले लोकतान्त्रिक पद्धतिमा नियमित चुनाव अपरिहार्य भएको र सुशासन तथा हस्तक्षेपमुक्त प्रशासनका माध्यमबाट चुनाव सफलतापूर्वक सम्पन्न गर्नु सरकारको मुख्य लक्ष्य भएको बताए।
भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका कारण सुरक्षा चुनौती बढेको भन्दै केही समूहले निर्वाचन बिथोलिने आशंका व्यक्त गरिरहेकाबारे उनले स्पष्ट प्रतिक्रिया दिए। उनले ७२७ थान हतियार फिर्ता भइसकेको र बाँकी पनि फिर्ता हुने क्रममा रहेको जानकारी दिए। फरार ४ हजार ५५२ कैदीबन्दीहरुलाई पक्राउ गर्न विशेष ‘अपरेशन’ सञ्चालन भइरहेको पनि बताएका छन्।
गृहमन्त्री अर्यालका अनुसार सरकार वार्ता र संवादमार्फत सबै पक्षको भावना समेट्दै अघि बढ्नेछ। कसैलाई काखा–पाखा नगर्ने बताउँदै उनले जेनजी आन्दोलनपछि गृह प्रशासनले शान्ति, सुरक्षा र सेवाप्रवाह सुधारमा गम्भीरतापूर्वक काम गरिरहेको दाबी गरे।








