समाचार सुन्नुहोस :
काठमाडौं – सहरी विकास, ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मोरङको बेलबारीमा आयोजित कार्यक्रममा उनले राजनीतिमा आइसकेपछि चुनाव लड्नु स्वाभाविक भएको बताए।
राजीनामा दिएर वा पदमै रहेर चुनाव लड्ने प्रश्नमा घिसिङले पद छोेड्न आवश्यक नभएको स्पष्ट पारे। उनले विगतका अन्तरिम र चुनावी सरकारका उदाहरण दिँदै, ‘कसैले पनि चुनाव लड्दा पद छोडेको छैन, हामी पनि त्यसैअनुसार अघि बढ्छौँ,’ भने। उनले फागुन २१ गते नै चुनाव हुने दाबी गर्दै बजेट र तयारी दुवै पर्याप्त रहेको बताए। ‘सरकारको मुख्य भूमिका यही चुनाव सफलतापूर्वक सम्पन्न गर्नु हो,’ उनले भने।
रवि लामिछाने र बालेन शाहसहितका नयाँ राजनीतिक शक्तिहरूबीच एकताको प्रश्नमा घिसिङले देश बनाउन चाहने सबै वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। घिसिङले पूर्व–पश्चिम राजमार्ग, रेलवे र स्थानीय विकास योजनाहरूलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै उर्लाबारी–बेलबारीका रोकिएका योजना शुरु गर्ने आश्वासन पनि दिए।








