समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते नै निर्वाचन हुने दाबी गर्दै कोही पनि दुविधामा नबस्न आग्रह गरेका छन्।
आइतबार पोखरामा आयोजित प्रदेशस्तरीय एकता सन्देश सभामा उनले सरकार तथा छिमेकी देशहरू—चीन र भारत—पनि चुनावप्रति सकारात्मक रहेको उल्लेख गरे। उनले भने, “कोही पनि दुविधामा बस्न आवश्यक छैन। चुनाव फागुन २१ गते हुन्छ र हुनैपर्छ। हाम्रो एकता सभा सकिँदासम्म चुनावी माहोल बन्नेछ। छिमेकीहरूले पनि चुनाव होस् भन्ने चाहना राखेका छन्। सरकार चुनावका लागि वार्तामा बसिरहेको छ।”
उनले सरकारले धेरै जनाधार भएका दललाई छोडेर जनाधार न भएका दलसँग मात्रै संवाद गरिरहेको आरोप लगाए। आफूहरूलाई बेवास्ता नगर्न चेतावनी दिँदै प्रचण्डले भने, “जसको धेरै जनाधार छ, त्यसलाई नहेर्ने हो भने चुनावी माहोल बिथोल्ने काम हुन्छ।”
प्रचण्डले अहिलेको सरकार आफू र माधवकुमार नेपालले मिलेर बनाएको भन्दै सरकारलाई त्यसको हेक्का राख्न पनि सुझाव दिए। “भदौ २६ गते राति राष्ट्रपतिसँग बसेर प्रधानमन्त्री बनाउने सहमति मैले र माधवजीले मिलेर गरेका थियौँ,” उनले भने, “देशभर चुनावी वातावरण बनाउन हामी सबै जुटेका छौँ।”








