समाचार सुन्नुहोस :
काठमाडौँ – दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको छ। त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो। जवाफी व्याटिङमा लुम्बिनीले १९.४ ओभरमै ७ विकेटको क्षतिमा १५१ रन पूरा गर्दै जीत हात पार्यो।
यो पोखराको चौथो खेल हो। यस अघि पोखराले एक खेल मात्र जितेको छ भने दुई खेलमा हार बेहोरेको छ। लुम्बिनीले भने पाँच खेल खेल्दा दुई खेलमा जित निकालेको छ। अंक तालिकामा पोखरा छैटौँ र लुम्बिनी सातौँ स्थानमा छन्।
दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण मानिएको थियो। खासगरी लुम्बिनीका लागि प्लेअफ सम्भावना जीवित राख्न जीत अत्यावश्यक थियो। हार भएको खण्डमा उसको प्लेअफ यात्रा अंकगणितमै सीमित हुने स्थिति थियो।








