समाचार सुन्नुहोस :
काठमाडौँ – नवगठित उज्यालो नेपाल पार्टीले मंसिर १७ गते काठमाडौंमा घोषणा सभा आयोजना गर्ने भएको छ। शुक्रबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डा. राजु थापाले प्रज्ञा भवनमा ठूलो सभा गर्ने तयारी पूरा भएको जानकारी दिए।
सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ रहनेछन्। कार्यक्रममा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र–२०८२ औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ। थापाका अनुसार घोषणा पत्रमा पार्टीको सैद्धान्तिक मार्ग, प्राथमिकता, नीति तथा कार्ययोजना स्पष्ट रूपमा प्रस्तुत गरिनेछ।
पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले उज्यालो नेपाल पार्टी लोकतान्त्रिक समाजवादको बाटो अपनाएर अघि बढ्ने घोषणा गरे। प्रवक्ता थापाले सबै राजनीतिक दलका राम्रो पक्षलाई आत्मसात गरी देशका लागि प्रभावकारी विकल्प बन्ने लक्ष्य रहेको बताए।
उज्यालो नेपाल पार्टी अहिले नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ। पार्टीले घोषणा सभाबाट आफ्नो संरचना, नीति तथा आगामी राजनीतिक यात्राबारे जनसमक्ष व्यापक रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेको जनाएको छ।








