टोकियो – जापानको मत्स्यपालन मन्त्रालयले यस महिनादेखि चीनमा समुद्री उत्पादनहरूको ढुवानी पुनः सुरु भएको जनाएको छ, जुन दुई वर्षभन्दा बढी समयदेखि रोकिएको थियो । मन्त्रालयले शुक्रबार होक्काइडोबाट ६ टन जमेको स्क्यालप (एक प्रकारको सिपी) बुधबार चीन पठाइएको जानकारी दिएको छ ।
चीनले सन् २०२३ को अगस्टमा जापानले क्षतिग्रस्त फुकुशिमा दाइची आणविक ऊर्जा प्लान्टबाट प्रशोधित र पातलो पारिएको पानी समुद्रमा छोड्न थालेपछि जापानी समुद्री खानाको आयात रोकेको थियो । तर, चिनियाँ अधिकारीहरूले यस जुन महिनामा आयात पुनः सुरु गर्ने घोषणा गरेका थिए, जसमा फुकुशिमा र छिमेकी मियागीलगायत १० प्रान्तका उत्पादनहरू भने समावेश गरिएका छैनन् ।
मुख्य मन्त्रिपरिषद्का सचिव किहारा मिनोरुले पत्रकारहरूसँग कुरा गर्दै यस हप्ताको सुरुमा भएको निर्यात चिनियाँ सरकारको उक्त घोषणाको परिणाम भएको बताए । उनले भने, ‘जापानी सरकारले चीनको पछिल्लो कदमलाई सकारात्मक रूपमा लिएको छ । टोकियोले बेइजिङलाई बाँकी १० प्रान्तबाट मत्स्य उत्पादनहरूमाथिको आयात प्रतिबन्ध हटाउन र जापानी गाईको मासुको आयात पुनः सुरु गर्नका लागि कडा माग गर्नेछ ।’
आगामी सोमबार आओमोरी प्रान्तबाट करिब ६०० किलोग्राम नुनिलो समुद्री काँक्रा पठाउने तालिका छ । फुकुशिमा प्लान्टमा पग्लिएको इन्धनलाई चिसो पार्न प्रयोग गरिएको पानी वर्षा र भूमिगत पानीसँग मिसिएको थियो । जम्मा भएको पानीलाई अधिकांश रेडियोधर्मी पदार्थ हटाउन प्रशोधन गरिन्छ, तर यसमा अझै पनि ट्रिटियम रहेको हुन्छ ।








