टोकियो – जापान सरकारले विदेशी नागरिकलाई प्रदान गरिने व्यवसाय व्यवस्थापक ‘बिजनेस म्यानेजर’ भिसा सम्बन्धी नियममा व्यापक संशोधन गरेको छ । गत अक्टोबर १६ देखि लागू भएको यो नयाँ मापदण्डले जापानमा कम्पनी स्थापना गरी व्यवसाय सञ्चालन गर्न चाहने विदेशीहरूका लागि थप चुनौती खडा गरेको छ । विशेषगरी, जापानमा बढ्दो संख्यामा रहेका नेपाली व्यवसायीहरूमा यसले ठूलो अन्योल र चिन्ता थपेको छ ।
जापानको कानुन मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले जारी गरेको सूचना अनुसार, नयाँ नियम सन् २०२८ सम्म परीक्षणकालको रूपमा रहनेछ र त्यसपछि पूर्ण रूपमा लागू हुनेछ । अक्टोबर १६ भन्दा अगाडि आवेदन दिनेहरूको हकमा पुरानै नियम लागू हुने भए पनि, तीन वर्षपछि सबै व्यवसायीले नयाँ मापदण्ड अनुसार नै आवेदन दिनुपर्नेछ ।
-
के छ नयाँ नियममा ?
१. बढेको न्यूनतम पुँजी : अब जापानमा कम्पनी सञ्चालन गर्न कम्तीमा ३ करोड येन पुँजी हुनुपर्नेछ । यसअघि यो सीमा ५० लाख येन मात्र थियो । हाल ५० लाख येन पुँजीमा सञ्चालित कम्पनीहरूले पनि आगामी तीन वर्षभित्र आफ्नो पुँजी ३ करोड येन पुर्याउनुपर्नेछ ।
२. अनिवार्य कर्मचारी नियुक्ति : नयाँ मापदण्ड अनुसार, कम्पनीमा एकजना पूर्णकालीन कर्मचारी अनिवार्य नियुक्ति गर्नुपर्नेछ ।
३. भाषागत क्षमताको मापदण्ड : कम्पनी सञ्चालक वा पूर्णकालीन कर्मचारीमध्ये एक जनासँग जापानी भाषा प्रवीणता परीक्षा (JLPT) N2 वा बिजनेस जापानीज प्रवीणता परीक्षामा ४०० वा सोभन्दा बढी अंक प्राप्त गरेको हुनुपर्नेछ । यसअघि भाषा सम्बन्धी कुनै मापदण्ड थिएन ।
४. शैक्षिक योग्यता र व्यवस्थापकीय अनुभव : आवेदकको व्यवस्थापन वा प्रशासन सम्बन्धी स्नातक वा स्नातकोत्तर डिग्री हुनुका साथै तीन वर्षभन्दा बढीको व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ ।
५. छुट्टै कार्यालयको आवश्यकता : व्यवसाय सञ्चालनका लागि छुट्टै कार्यालय अनिवार्य हुनुपर्नेछ । यसअघि आफ्नै घर वा कोठाको ठेगाना प्रयोग गर्न सम्भव थियो ।
६. भिसा नवीकरणमा कडाइ : भिसा नवीकरण गर्दा कर, सामाजिक बिमा, रोजगार बिमा लगायत अन्य कानुनी बक्यौता तिरेको प्रमाण पेश गर्नुपर्नेछ। यो नियम जापानी नागरिक र स्थायी बसोबास अनुमति (PR) प्राप्त विदेशी नागरिक बाहेक सबैमा लागू हुनेछ ।
जापानमा नेपाली व्यवसायीको संख्या बढ्दो छ, जापानभर नेपालीले सञ्चालनमा ल्याएका व्यवसायको संख्या ६ देखि ७ हजार हाराहारीमा रहेको छ । जसमा ५ हजार हाराहारीमा रेस्टुरेन्ट व्यवसायीहरू छन् । नयाँ मापदण्डले सानो पुँजीमा व्यवसाय गरिरहेका धेरै नेपालीहरूलाई भिसा नवीकरणमा समस्या पर्नसक्नेछ ।

नयाँ नियमले व्यवसायलाई थप व्यवस्थित बनाउने भए पनि यो खर्चिलो हुनेछ । व्यवसायमा टिकिरहनका लागि नेपाली व्यवसायीले आफ्नो व्यापार विस्तार गर्नुपर्ने अवस्था आएको छ । अब व्यवसायमा टिक्नका लागि सम्बन्धित व्यवसायमा राम्रो दखल राख्ने र गुणस्तरीय उत्पादन बजारमा ल्याउनुपर्ने अर्को चुनौती छ ।
कडाइको कारण : भिसाको दुरुपयोग रोक्ने प्रयास
जापान सरकारले सन् २००२ मा विदेशी लगानी भित्र्याउने उद्देश्यका साथ बिजनेस म्यानेजर भिसालाई खुकुलो बनाएको थियो । तर, पछिल्लो समय भिसा पाउनकै लागि कम्पनी खोल्ने, कार्यालयबिना व्यवसाय सञ्चालन गर्ने र नक्कली कारोबार देखाउने जस्ता गतिविधि बढेपछि जापानको भिसा प्रणालीको दुरुपयोग भएको निष्कर्षमा सरकार पुगेको हो ।
जापान सरकारको यो कदमले विदेशी व्यवसायीहरूका लागि व्यवसाय सञ्चालन गर्न थप चुनौती खडा गरेको छ, तर यसले जापानको अर्थतन्त्रमा गुणस्तरीय लगानी र दिगो व्यवसायलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। नेपाली व्यवसायीहरूका लागि भने यो आफ्नो व्यावसायिक रणनीति पुनरावलोकन गर्ने र नयाँ मापदण्ड अनुसार आफूलाई तयार पार्ने समय हो ।








