
दुबई- इरानले सोमबार इजरायलका लागि जासुसी गरेको आरोप लगाउँदै एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । पछिल्ला दशकमै देखिएको सबैभन्दा ठूलो फाँसी अभियानमा यो नयाँ घटना हो ।
इरानले फाँसी दिइएका व्यक्तिको नाम बहमान चुबियासल रहेको बताएको छ । उनको आरोप बारे इरानी सञ्चारमाध्यममा वा मृत्युदण्ड अनुगमन गर्ने मानवअधिकार समूहहरूलाई भने तत्काल थाहा थिएन । तर यो फाँसी संयुक्त राष्ट्रसंघले गत साता इरानको परमाणु कार्यक्रमका कारण प्रतिबन्ध पुनः लगाएको केही दिनमै भएको हो ।
इरानको सरकारी न्यायिक मुखपत्र मिजान समाचार एजेन्सीका अनुसार, चुबियासलले इजरायली गुप्तचर निकाय मोसादका अधिकारीहरूसँग भेट गरेका थिए। उनी “संवेदनशील दूरसञ्चार परियोजनामा काम गर्ने” र “विद्युत उपकरण आयातका मार्गहरूबारे सूचना दिन्ने” कार्यमा संलग्न रहेको आरोप लगाइएको छ ।
युद्धपछिका फाँसीहरू
इरानले यस वर्ष जुन महिनामा इजरायलसँग भएको युद्धयता जासुसी आरोपमा कम्तीमा नौ जना व्यक्तिलाई झुण्ड्याएर मृत्युदणड दिएको छ । उक्त युद्धमा इजरायलले इरानमाथि हवाई आक्रमण गर्दै करिब १,१०० जनाको हत्या गरेको थियो, जसमा धेरै सैन्य कमाण्डरहरू पनि परेका थिए। जवाफी कारबाहीमा इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो।
यसअघि यसै महिनामा इरानले बाबाक शाहबाजीलाई पनि मृत्युदण्ड दिएको थियो । शाहबाजीलाई इजरायलका लागि जासुसी गरेको आरोप लगाइएको थियो । तर मानवअधिकारकर्मीहरूले सो आरोप अस्वीकार गर्दै उनलाई यातना दिएर झुटा कबुलनामामा हस्ताक्षर गराइएको बताएका थिए । शाहबाजीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चिठी लेखेर किभका लागि लड्न चाहेको बताएका थिए ।
बढ्दो असन्तोष र दमन
गत केही वर्षयता इरानमा देशको कमजोर अर्थतन्त्र, महिलाको अधिकार र धार्मिक शासन परिवर्तनको मागसहित देशव्यापी आन्दोलनहरू भइरहेका छन् । ती आन्दोलनहरू र इजरायलसँगको युद्धपछि इरानले १९८८ पछि नदेखिएको गतिमा मृत्युदण्ड कार्यान्वयन गरिरहेको छ । त्यो वर्ष इरान–इराक युद्ध अन्त्यसँगै हजारौँ कैदीलाई झुण्ड्याइएको थियो।
ओस्लोमा आधारित इरान ह्युमन राइट्स र वाशिङ्टनस्थित अब्दुर्रहमान बोरोमाण्ड सेन्टरका अनुसार, २०२५ सालमा मात्रै इरानले १,००० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ। वास्तविक संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ, किनभने इरानले प्रत्येक फाँसीबारे जानकारी सार्वजनिक गर्दैन ।








