Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – अमेरिकी सरकारले विदेशी विद्यार्थी र पत्रकारहरूका लागि भिसाको अवधि छोटो बनाउने प्रस्ताव गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभर आप्रवासन नियमहरूलाई थप कडा बनाइरहेका बेला यो नयाँ कदम अघि सारिएको हो ।

गृह मन्त्रालय (Department of Homeland Security) ले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि ‘F’ भिसा, एक्सचेन्ज कार्यक्रममा सहभागी हुने आगन्तुकका लागि ‘J’ भिसा र सञ्चारकर्मीका लागि ‘I’ भिसाका नियमहरू कडा पार्न खोजेको जनाएको छ । नयाँ योजनाअनुसार, विद्यार्थी र एक्सचेन्ज भिसावाहकहरूलाई अधिकतम चार वर्षसम्म बस्ने अनुमति दिइनेछ। पत्रकार भिसाको अवधि २४० दिनभन्दा बढी हुने छैन, जसमा चिनियाँ नागरिकहरूलाई अमेरिकी भूमिमा ९० दिन मात्र सीमित गरिनेछ ।

मन्त्रालयले अमेरिकाले लामो समयदेखि विदेशी विद्यार्थी अन्य भिसावाहकहरूलाई ‘लगभग अनिश्चितकालका लागि’ देशमा बस्न दिएको र यस्तो अभ्यासले ‘सुरक्षा जोखिम निम्त्याएको, करोडौं डलर करदाताको खर्च बढाएको र अमेरिकी नागरिकहरूलाई बेफाइदा पुर्याएको’ दाबी गरेको छ ।

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘यो नयाँ प्रस्तावित नियमले निश्चित भिसावाहकहरूलाई अमेरिकामा बस्न अनुमति दिइने समय सीमा तोकेर उक्त दुरुपयोगलाई एक पटकका लागि अन्त्य गर्नेछ, जसले संघीय सरकारलाई विदेशी विद्यार्थी र उनीहरूको इतिहासको उचित निगरानी गर्ने बोझ कम गर्नेछ ।’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले वाशिङ्टनले प्रस्ताव गरेका ‘भेदभावपूर्ण कदमहरू’प्रति बेइजिङको आपत्ति व्यक्त गरेका छन् । बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सांस्कृतिक र जन-स्तरको आदानप्रदान बढाउनु दुवै देशको साझा हितमा छ ।’

ट्रम्पको पहिलो कार्यकालको अन्तिम महिनाहरू, सन् २०२० मा, संयुक्त राज्य अमेरिकाले यस्तै परिवर्तनहरू खोजेको थियो । तर, उच्च शिक्षा र अन्य धेरै संस्थाहरूबाट कडा विरोध भएपछि तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनले अर्को वर्ष प्रारम्भिक प्रस्ताव फिर्ता लिएको थियो ।

मन्त्रालयले नयाँ प्रस्तावमाथि सार्वजनिक टिप्पणीका लागि ३० दिनको समय दिने जनाएको छ । ट्रम्प प्रशासनले कहिलेसम्म अवस्थित भिसा नीति परिवर्तन गर्न चाहन्छ भन्ने कुरा स्पष्ट छैन । विद्यार्थी, एक्सचेन्ज र पत्रकार भिसाका धारकहरूले प्रारम्भिक अवधिभन्दा बाहिर भिसा विस्तारका लागि आवेदन दिन सक्नेछन् ।

परिवर्तनहरू सार्वजनिक सुरक्षा सुधार गर्न आवश्यक रहेको दाबीका अतिरिक्त, मन्त्रालयले प्रस्तावित नियममा भनेको छ कि ‘F, J र I’ भिसाधारकहरूको संख्यामा भएको वृद्धिले अस्थायी बासिन्दाहरूलाई “निगरानी र निरीक्षण” गर्ने यसको क्षमतालाई चुनौती दिइरहेको छ ।

प्रस्तावमा सन् २०२४ मा करिब १६ लाख ‘F’ भिसा विद्यार्थी अमेरिकामा रहेको उल्लेख छ, जुन १९८०-१९८१ को शैक्षिक वर्षमा २ लाख ६० हजार थियो । मन्त्रालयका अनुसार, सन् १९७० को दशकको उत्तरार्धदेखि F भिसा मापदण्ड पूरा गर्ने विदेशी विद्यार्थीहरूलाई अनिश्चित अवधिका लागि संयुक्त राज्य अमेरिकामा प्रवेश दिइएको थियो । गत वर्ष देशमा ५ लाख २३ हजार ‘J’ भिसा धारक र २४ हजार ‘I’ भिसा धारकहरू रहेको पनि उल्लेख छ ।

तपाईको प्रतिक्रिया