Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनविरुद्धको युद्धमा रुसलाई सघाएका आफ्ना सैनिकहरूलाई देशको सर्वोच्च सम्मान “हिरो” (नायक) को उपाधिले सम्मान गरेका छन्। सत्तारुढ वर्कर्स पार्टी अफ कोरियाको मुख्यालयमा आयोजित एक विशेष समारोहमा यो सम्मान प्रदान गरिएको हो, जसलाई शुक्रबार सरकारी सञ्चारमाध्यमले प्रमुखताका साथ प्रसारण गरेको छ।

युद्धमा ज्यान गुमाउने सैनिकहरूको शोकमा नेता किमले स्मारकको पर्खालमा पुष्पगुच्छा अर्पण गर्दै मौन धारण समेत गरेका थिए। उनले मृतक सैनिकका शोकसन्तप्त परिवारजनलाई सान्त्वना दिएको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ। यद्यपि, प्योङयाङमा उक्त समारोह कहिले आयोजना गरिएको हो भन्नेबारे स्पष्ट पारिएको छैन।

स्मारक हलमा करिब १०० जना सैन्यकर्मीको तस्बिर राखिएको थियो। उनीहरुको “उत्कृष्ट वीरता र महान् आत्म-बलिदानको भावना” को प्रशंसा गर्दै किमले रुसमा तैनाथ सैनिकहरूलाई “सर्वश्रेष्ठ नायक” को संज्ञा दिए।

समारोहमा बोल्दै कोरियाली जन सेनाका उपप्रमुख तथा रुसलाई सहयोग गर्न पठाइएको इकाईका कमाण्डर किम योङ बोकले नेता किमका “वफादार सिपाहीहरू” ले सत्तारुढ पार्टीको “अधिकारको भक्तिपूर्वक रक्षा गर्ने” र “घर फर्कने दिन” सम्म देशको सम्मानलाई “दृढतापूर्वक जोगाउने” प्रतिबद्धता व्यक्त गरे।

सैनिकहरूको प्रशंसामा एक कलात्मक प्रस्तुति र भोजको पनि आयोजना गरिएको थियो, जसमा मृतकका परिवारका सदस्यहरूको समेत सहभागिता रहेको समाचार एजेन्सीले उल्लेख गरेको छ।

उत्तर कोरियाले गत वर्षको अक्टोबरदेखि युक्रेनविरुद्धको युद्धमा रुसलाई समर्थन गर्न हजारौं सेना पठाउँदै आएको छ।यो कदम सन् २०२४ को जुनमा नेता किम र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हस्ताक्षर भएको द्विपक्षीय रक्षा सहयोग सम्झौता अन्तर्गत चालिएको हो । उक्त सन्धिमा कुनै पनि देशमाथि आक्रमण भएमा पारस्परिक सहयोग गर्ने प्रावधान समावेश छ ।

तपाईको प्रतिक्रिया