टोकियो – जापानी फुटबल इतिहासकै सर्वश्रेष्ठ स्ट्राइकर मानिने कुनिशिगे कामामोतोको ८१ वर्षको उमेरमा निमोनियाका कारण निधन भएको छ । जापान फुटबल एसोसिएसनले आइतबार उनको निधनको पुष्टि गरेको हो ।
कामामोतोले जापानका लागि ७६ खेलमा कीर्तिमानी ७५ गोल गरेका थिए, जुन आजसम्म कसैले तोड्न सकेको छैन । क्योतोमा जन्मिएका कामामोतोले सन् १९६८ मा मेक्सिकोमा भएको ओलम्पिकमा जापानलाई कास्य पदक जिताउन नायकको भूमिका खेलेका थिए । उक्त प्रतियोगितामा सात गोल गर्दै उनी शीर्ष गोलकर्ता बनेका थिए, जुन ग्रीष्मकालीन खेलकुदमा जापानको फुटबलमा हालसम्मकै उत्कृष्ट उपलब्धि हो ।
पोर्चुगलका महान् खेलाडी युसेबियोबाट प्रभावित कामामोतो आफ्नो शक्तिशाली प्रहार र गोल गर्ने अद्वितीय क्षमताका लागि प्रख्यात थिए । उनले यानमार डिजेल (हालको सेरेजो ओसाका) बाट खेल्दै जापान सकर लिगमा १७ वर्षे करियरमा २०२ गोल र ७९ असिस्टको कीर्तिमान बनाएका थिए । उनी सात पटक लिगको शीर्ष गोलकर्ता घोषित भए ।
जापान फुटबल एसोसिएसनका पूर्वप्रमुख तथा जे-लिगका संस्थापक अध्यक्ष साबुरो कावाबुचीले भने, ‘आधा शताब्दी बितिसक्दा पनि उनको नजिक आउन सक्ने कुनै खेलाडी जन्मिएको छैन । ‘अतुलनीय खेलाडी’ भन्ने शब्द उनकै लागि बनेको हो ।’
जापानका लागि उनको ७५ गोलको कीर्तिमान अझै पनि सुरक्षित छ । दोस्रो स्थानमा रहेका काजुयोशी मिउरा (५८ वर्षको उमेरमा पनि व्यावसायिक फुटबल खेलिरहेका) को नाममा ५५ गोल छ भने पूर्वलेस्टर सिटीका खेलाडी सिन्जी ओकाजाकी ५० गोलसहित तेस्रो स्थानमा छन् ।
सन् १९६९ मा भाइरल हेपाटाइटिसका कारण बिरामी परेपछि जापानले सन् १९७० को विश्वकप छनोट पार गर्न सकेन । कामामोतोले त्यसपछिका दुई विश्वकप पनि गुमाए, जसलाई उनी आफ्नो करियरको ‘एकमात्र पछुतो’ मान्थे । तत्कालीन बायर्न म्युनिखका प्रशिक्षक डेटमार क्रेमरको समर्थनका बाबजुद पनि जर्मन बुन्डेसलिगा क्लबमा जाने उनको सपना पूरा हुन सकेन । यदि त्यो सम्भव भएको भए, उनी युरोपमा खेल्ने पहिलो जापानी खेलाडी बन्ने थिए ।
उनी सन् १९८० मा विश्व-११ बाट खेल्ने पहिलो जापानी खेलाडी बने, जहाँ उनले डच स्टार योहान क्रफसँगै खेलेका थिए । सन् १९८४ मा टोकियोको राष्ट्रिय रंगशालामा भएको उनको बिदाइ खेलमा ब्राजिलका पेले र पश्चिम जर्मनीका वोल्फगाङ ओभरथ जस्ता दिग्गज खेलाडीहरूले सहभागिता जनाएका थिए ।
खेल जीवनपछि उनले सन् १९९१ देखि १९९४ सम्म मात्सुसिता इलेक्ट्रिक (पछि गाम्बा ओसाका) को प्रशिक्षकको भूमिका निर्वाह गरे । सन् १९९८ देखि उनी आठ वर्षसम्म जापान फुटबल एसोसिएसनको उपाध्यक्ष ब ने। उनी सन् १९९५ मा एक कार्यकालका लागि हाउस अफ काउन्सिलर्सको सांसद पनि बनेका थिए र सन् २०१४ मा उनलाई ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गरिएको थियो ।
सेवानिवृत्तिपछि कामामोतोले जापानभर १,२०० भन्दा बढी फुटबल क्लिनिक सञ्चालन गरे । उनैबाट प्रेरित भएका पूर्व एसी मिलान तथा जापानका स्टार खेलाडी केसुके होन्डाले कामामोतोसँग खेल्न पाउँदाको उत्साह सम्झँदै भनेका छन्, ‘एक स्ट्राइकरका लागि चाहिने क्षमता र सोचाइको विषयमा हामीले श्री कामामोतोबाट अझै धेरै कुरा सिक्न सक्छौं ।’








