टोकियो – विश्वको चौथो ठूलो अर्थतन्त्र जापानले हाल इतिहासकै सबैभन्दा गम्भीर जनसांख्यिकीय संकटको सामना गरिरहेको छ । सरकारी तथ्यांकअनुसार गत वर्ष जापानमा जन्मिएका शिशुको तुलनामा मृत्यु हुनेको संख्या करिब १० लाखले बढी देखिएको छ । यो आँकडा सन् १९६८ मा सरकारी सर्वेक्षण सुरु भएयताकै सबैभन्दा तीव्र वार्षिक जनसंख्या गिरावट हो ।
यस भयावह तथ्यांकले राष्ट्रको अर्थतन्त्र र सामाजिक संरचनामा दूरगामी असर पार्ने निश्चित छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा जापानी नागरिकको संख्या ९ लाख ८ हजार ५ सय ७४ ले घटेको छ । गत वर्ष जापानमा केवल ६ लाख ८६ हजार ६१ शिशुको जन्म भयो, जुन सन् १८९९ मा तथ्यांक राख्न थालिएयताकै सबैभन्दा न्यून हो । यसको ठीकविपरीत, सोही अवधिमा लगभग १६ लाख मानिसको मृत्यु भयो, जसको अर्थ प्रत्येक एक शिशुको जन्म हुँदा दुईभन्दा बढी मानिसको मृत्यु भइरहेको छ । यो जापानको जनसंख्यामा गिरावट आएको लगातार १६ औं वर्ष हो ।
प्रधानमन्त्री शिगेरु इशिबाले जापानको वृद्धवृद्धाको बढ्दो जनसंख्याको यो संकटलाई ‘मौन आपतकालको संज्ञा दिँदै यसलाई सम्बोधन गर्न सरकार कटिबद्ध रहेको बताएका छन् । उनले निःशुल्क बाल हेरचाह र लचिलो कार्य समयजस्ता परिवारमैत्री नीतिहरू लागू गर्ने प्रतिबद्धता जनाएका छन् । तर, जापानी महिलाहरूमा निरन्तर घट्दो जन्मदरलाई उल्टाउने सरकारी प्रयासहरू हालसम्म खासै प्रभावकारी देखिएका छैनन् ।
आर्थिक र सामाजिक चुनौती
जनसंख्यामा आएको यो तीव्र गिरावटले जापानको आर्थिक र सामाजिक संरचनामा गम्भीर चुनौतीहरू थपेको छ। विश्व बैंकका अनुसार, हाल जापानको कुल जनसंख्यामा ६५ वर्ष र सोभन्दा माथिका मानिसहरूको हिस्सा करिब ३० प्रतिशत पुगेको छ, जुन मोनाकोपछि विश्वकै दोस्रो उच्च अनुपात हो । यसैबीच, १५ देखि ६४ वर्ष उमेर समूहको काम गर्ने जनसंख्या घटेर लगभग ६० प्रतिशतमा झरेको छ ।
घट्दो श्रमशक्तिले वृद्ध जनसंख्याको हेरचाह र सामाजिक सुरक्षाको बढ्दो लागत धान्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको प्रत्यक्ष असर ग्रामीण क्षेत्रहरूमा देखिएको छ, जहाँ धेरै सहर र गाउँहरू खाली हुँदै गएका छन् । गत वर्ष सार्वजनिक गरिएको एक सरकारी तथ्यांकअनुसार पछिल्ला दुई दशकमा करिब ४० लाख घरहरू खाली भएका छन् ।
विदेशी कामदारमा निर्भरता बढ्दो
आफ्नो नागरिकको संख्या घटिरहेको अवस्थामा जापानले विदेशी श्रमलाई अँगाल्न थालेको छ । १ जनवरी २०२५ सम्मकोतथ्यांकअनुसार जापानमा विदेशी बासिन्दाहरूको संख्या रेकर्ड ३६ लाख पुगेको छ, जुन कुल जनसंख्याको करिब तीन प्रतिशत हो । सरकारले विदेशी प्रतिभा आकर्षित गर्न डिजिटल नोम्याड भिसा र सीप अभिवृद्धि जस्ता पहलहरू सुरु गरेको छ । यद्यपि, परम्परागत रूपमा आप्रवासनप्रति अनुदार मानिने जापानी समाजमा यो अझै पनि राजनीतिक रूपमा एक जटिल विषय बनेको छ ।
उच्च जीवनयापन लागत, स्थिर ज्याला र कठोर कार्य संस्कृतिले धेरै युवाहरूलाई परिवार सुरु गर्न निरुत्साहित गरेको विज्ञहरू बताउँछन् । विशेषगरी महिलाहरूले परम्परागत लैंगिक भूमिकाका कारण प्राथमिक हेरचाहकर्ताको रूपमा सीमित सहयोग मात्र पाउने गरेका छन् । जापानको प्रजनन दर (एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको औसत संख्या) सन् १९७० को दशकदेखि नै न्यून रहेको छ ।
अहिले कुनै नाटकीय सुधार भए तापनि त्यसको सकारात्मक परिणाम देखिन दशकौं लाग्न सक्छ । सरकारले जन्मदर बढाउन आवास अनुदानदेखि भुक्तानीसहितको अभिभावकीय बिदासम्मका विभिन्न प्रोत्साहनहरू वर्षौंदेखि लागू गर्दै आए पनि सांस्कृतिक र आर्थिक बाधाहरू अझै पनि कायमै छन् ।








