
टोकियो — जापानमा सन् २०२५ मा जन्मिने शिशुको संख्या र कुल प्रजनन दर (एक महिलाले आफ्नो जीवनकालमा जन्माउने अनुमानित सन्तान संख्या) दुवै ऐतिहासिक न्यून स्तरमा झरेका छन् ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ मा जापानी नागरिकबाट जन्मिएका शिशुको संख्या ६ लाख ७१ हजार २३६ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशत अर्थात् १४ हजार ९३७ ले कम हो ।
यस्तै, कुल प्रजनन दर पनि ०.०१ अंकले घटेर १.१४ मा झरेको छ । जन्मदर र प्रजनन दर दुवै लगातार दशौं वर्ष घटेका हुन् । यद्यपि पछिल्ला वर्षहरूको तुलनामा गिरावटको गति भने केही सुस्त भएको मन्त्रालयले जनाएको छ ।
विशेषज्ञहरूका अनुसार सन् १९९० को दशकतिर जन्मिएका २५ देखि ३५ वर्ष उमेर समूहको जनसंख्या अपेक्षाकृत स्थिर रहेकाले नवजात शिशुको संख्यामा आएको गिरावट केही सुस्त भएको हुन सक्छ । तर जन्मदरमा आएको निरन्तर गिरावट रोक्न तत्काल प्रभावकारी उपाय आवश्यक रहेको उनीहरूको भनाइ छ ।
भविष्यको जन्मदरलाई प्रभावित गर्ने प्रमुख कारक मानिने विवाह संख्या भने लगातार दोस्रो वर्ष बढेको छ । सन् २०२५ मा ४ लाख ८९ हजार ११९ विवाह दर्ता भएका छन् । विवाह गर्ने पुरुषहरूको औसत उमेर ३१ वर्ष र महिलाहरूको २९.७ वर्ष रहेको छ, जुन अघिल्लो वर्षभन्दा कम हो ।
जापानका ४७ मध्ये केवल चारवटा प्रिफेक्चरमा मात्र जन्मदर बढेको देखिएको छ । टोकियो, तोयामा र इशिकावामा १० वर्षपछि पहिलोपटक जन्म संख्या बढेको छ भने कागावामा चार वर्षपछि वृद्धि देखिएको छ ।
प्रिफेक्चरगत रूपमा हेर्दा ओकिनावामा सबैभन्दा उच्च १.५२ प्रजनन दर रहेको छ। त्यसपछि मियाजाकीमा १.४६ र फुकुईमा १.४५ रहेको छ । सबैभन्दा कम प्रजनन दर टोकियोमा ०.९६ रहेको छ भने होक्काइडो र मियागीमा १.०० रहेको छ ।
यसैबीच सन् २०२५ मा कुल १५ लाख ८९ हजार ४८९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । कोभिड–१९ सम्बन्धी मृत्युमा कमी आएकाले पाँच वर्षपछि पहिलोपटक मृत्यु संख्या घटेको अनुमान गरिएको छ ।
जन्म र मृत्युको तुलना गर्दा मृत्यु संख्या जन्मभन्दा ९ लाख १८ हजार २५३ ले बढी रहेको छ । यससँगै जापानको जनसंख्या प्राकृतिक रूपमा घट्ने क्रम लगातार १९औं वर्षसम्म जारी रहेको छ ।
उल्लेखनीय रूपमा, सन् २०२४ मा जापानमा जन्मिने शिशुको संख्या पहिलोपटक ७ लाखभन्दा तल झरेर करिब ६ लाख ८६ हजार पुगेको थियो । जबकि राष्ट्रिय जनसंख्या तथा सामाजिक सुरक्षा अनुसन्धान संस्थाले सन् २०२३ मा गरेको अनुमानमा सन् २०२५ मा करिब ७ लाख ४९ हजार शिशु जन्मिने प्रक्षेपण गरिएको थियो ।








