टोकियो – टोकियोको उइनो जिल्लामा गत जनवरीमा भएको करिब ४२ करोड ३० लाख येन बराबरको नगद चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक वरिष्ठ ‘याकुजा’ सदस्यसहित थप तीन जनालाई पक्राउ गरेको छ ।
यस प्रकरणमा प्रहरीले यसअघि नै पाँच जना विरुद्ध अदालतमा अभियोग दर्ता गरिसकेको छ । बुधबार पक्राउ पर्ने नयाँ अभियुक्तहरूमा २९ वर्षीय आपराधिक गिरोहका कार्यकारी केइची यामागुची तथा टोकियो निवासी ४२ वर्षीय माकोतो किताहारा र ५२ वर्षीय युइचिरो मियाकावा रहेका छन् ।
प्रहरीका अनुसार यी तीनै जनाले अन्य व्यक्तिहरूसँग मिलेर गत जनवरी २९ को साँझ नगद भरिएका तीनवटा सुटकेस लुट्ने योजना बुनेका थिए । अभियुक्तहरूले चोरी कार्य सम्पादन गर्नका लागि मानिसहरू भर्ती गर्ने र घटनाका लागि आवश्यक भेटघाटको स्थान तय गर्ने ‘मास्टरमाइन्ड’ को भूमिका निर्वाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानका क्रममा अभियुक्तहरूको घर तथा अन्य स्थानहरूबाट करिब ३६ लाख येन नगद फेला परेको छ । यो रकम लुटिएको ४२ करोडकै एउटा हिस्सा भएको प्रहरीको विश्वास छ । अभियुक्तहरूले आफूमाथि लागेको आरोप स्वीकार गरे वा गरेनन् भन्नेबारे प्रहरीले हालसम्म केही खुलाएको छैन ।
पीडितहरूले उक्त ठूलो परिमाणको नगद हङकङमा सुन खरिद गर्नका लागि लैजान लागेको खुलेको छ । प्रहरीले यस लुटपाटलाई अन्य दुईवटा घटनासँग जोडेर हेरिरहेको छ- टोकियोको हानेदा विमानस्थलको पार्किङ स्थलमा भएको लुटपाटको प्रयास र हङकङमा भएको अर्को चोरीको घटना । यी घटनाहरूबीच कुनै संगठित गिरोहको हात हुन सक्ने भन्दै अनुसन्धानलाई तीव्र पारिएको छ ।








