टोकियो – जापानमा विदेशी बासिन्दाहरूमाथि हुने विभेदको दायरा विस्तार हुँदै अब मुस्लिम समुदायसम्म पुगेको छ । पछिल्ला वर्षहरूमा मुस्लिमहरूको जनसङ्ख्या झन्डै दोब्बरले वृद्धि भएसँगै उनीहरूविरुद्ध भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति र भौतिक दुर्व्यवहारका घटनाहरू तीव्र रूपमा बढेको पाइएको छ ।
विज्ञहरू र समुदायका सदस्यहरूका अनुसार, यसअघि मुख्यतया कोरियाली र कुर्दिस बासिन्दाहरूमाथि लक्षित हुने विभेदको निशाना अब मुस्लिम धर्मावलम्बीहरूतर्फ सोझिएको छ । जापानी सामाजिक सञ्जालहरूमा मुस्लिम विरोधी सामग्रीको बाढी आएको छ भने विभिन्न मस्जिदहरूमा धम्कीपूर्ण फोन र इमेलहरू आउने क्रम बढेको छ ।
वासेडा विश्वविद्यालयका प्रोफेसर एमेरिटस हिरोफुमी तानादाका अनुसार, सन् २०१९ मा जापानमा मुस्लिमहरूको सङ्ख्या करिब २ लाख ३० हजार थियो, जुन सन् २०२४ को अन्त्यसम्ममा बढेर ४ लाख २० हजार पुगेको अनुमान छ। यसमा जापानमा बसोबास गर्ने विदेशी र जापानी मूलका मुस्लिम दुवै सामेल छन् । हाल जापानभर १६० भन्दा बढी मस्जिदहरू सञ्चालनमा रहेका छन् ।
पछिल्लो समय घटेका केही घटनाले मुस्लिम समुदायलाई त्रसित बनाएको छ:-
- हक्काइडो: गत फेब्रुअरीमा एबेत्सु सहरमा रहेको एउटा मस्जिद र पाकिस्तानी नागरिकद्वारा सञ्चालित पुरानो गाडीको सोरुममा शृङ्खलाबद्ध रूपमा शङ्कास्पद आगजनी भयो ।
- ओसाका: मस्जिदबाट बिहानै चर्को स्वरमा ‘अजान’ (प्रार्थनाको आह्वान) बजाइएको भन्दै झूटो अफवाह फैलाएर साम्प्रदायिक तनाव सिर्जना गर्ने प्रयास गरियो ।
- कानागावा: फुजिसावा सहरमा नयाँ मस्जिद निर्माणको विषयलाई लिएर स्थानीय स्तरमा विरोध प्रदर्शन र निर्माणकर्ताहरूमाथि मानसिक दबाब दिने कार्य भइरहेको छ ।
उत्तरी कान्तो क्षेत्रको एउटा मस्जिदका अगुवा ‘अली’ (परिवर्तित नाम) भन्छन्, ‘दुर्व्यवहार अचानक यसरी विष्फोट भयो कि हामी स्तब्ध छौँ ।’ उनलाई दिनमा कम्तीमा ५ देखि १० वटा धम्कीपूर्ण फोन आउँछन्, जसमा ‘आफ्नो देश फर्क’ र ‘जापानलाई मस्जिद चाहिँदैन’ भन्ने सन्देशहरू हुन्छन् । उनको मस्जिदले विगत ३० वर्षदेखि स्थानीय समुदायसँग समन्वय गर्दै नयाँ आप्रवासीहरूलाई जापानी नियम, सरसफाइ र पेन्सन प्रणालीबारे सिकाउने काम गर्दै आएको थियो ।
एक पाकिस्तानी विद्यार्थीले प्रश्न गरे, ‘मेरो धर्म र संस्कृतिलाई मेरा जापानी साथीहरूले सम्मान गर्छन्, तर सामाजिक सञ्जालमा नचिनेका मानिसहरूले किन यति धेरै घृणा फैलाइरहेका छन् ?’
जापानमा शव जलाउने परम्परा छ, तर इस्लाम धर्ममा शव गाड्नुपर्ने प्रावधान हुन्छ । जापानभरि मुस्लिमहरूका लागि छुट्टै चिहानको अभाव र विद्यालयहरूमा ‘हलाल’ खानाको माग बढ्दै जाँदा सांस्कृतिक असमझदारीहरू पनि बढ्न थालेका छन् ।
आइची प्रिफेक्चरल युनिभर्सिटीका शोधकर्ता मिचितो ओहासीका अनुसार, स्थानीय स्तरका साना समस्याहरूलाई सामाजिक सञ्जालमा अतिरञ्जित गरेर प्रस्तुत गरिँदा सर्वसाधारणमा डर र भ्रम फैलिरहेको छ । उनी भन्छन्, ‘घृणास्पद अभिव्यक्ति रोक्न बनेका कानुनहरू पूर्ण रूपमा प्रभावकारी देखिएका छैनन् । समाजले मुस्लिमहरूलाई उनीहरूको धार्मिक पहिचानका आधारमा मात्र नभई एक ‘व्यक्तिको’ रूपमा हेर्न र व्यवहार गर्न सिक्नुपर्छ ।’








