Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो-सन् २०२६ को फिफा विश्वकप नजिकिँदै जाँदा टिकट र आधिकारिक सामानका नाममा अनलाइन ठगी बढेको भन्दै अधिकारीहरूले फुटबल समर्थकहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

अधिकारी तथा साइबर सुरक्षा अनुसन्धानकर्ताहरूका अनुसार ठगहरूले फिफाको आधिकारिक वेबसाइटजस्तै देखिने नक्कली वेबसाइट बनाएर टिकट बिक्री गर्ने, व्यक्तिगत विवरण चोरी गर्ने तथा नक्कली सामान बेच्ने प्रयास गरिरहेका छन् ।

आधिकारिक टिकटको मूल्य अत्यधिक महँगो भएको भन्दै धेरै समर्थकहरू सस्तो विकल्प खोजिरहेका बेला ठगहरूले यही अवसरको फाइदा उठाइरहेको विज्ञहरूको भनाइ छ ।

अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले गत साता फिफाको आधिकारिक वेबसाइटको नक्कल गर्ने करिब तीन दर्जन वेबसाइटबारे चेतावनी दिएको थियो । ती साइटहरूले व्यक्तिगत विवरण चोर्ने वा नक्कली टिकट तथा सामान बिक्री गर्ने प्रयास गरेको बताइएको छ ।

सिंगापुरस्थित साइबर सुरक्षा कम्पनी ग्रुप–आईबीका अनुसार गत अगस्टदेखि फिफासँग सम्बन्धितजस्तो देखिने ४ हजार ३०० भन्दा बढी नक्कली डोमेन दर्ता भएका छन् । तीमध्ये ३०० भन्दा बढी वेबसाइट एउटै चिनियाँ भाषी समूहले सञ्चालन गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार धेरै नक्कली वेबसाइट अहिले निष्क्रिय देखिए पनि विश्वकप नजिकिँदै जाँदा सक्रिय पार्ने तयारीमा राखिएका हुन सक्छन् ।

विज्ञहरूका अनुसार ठगहरूले समर्थकहरूको उत्साह, टिकटको सीमित उपलब्धता र छुट्ने डरको फाइदा उठाउँदै विशेष वा सीमित समयका लागि उपलब्ध भएको जस्तो देखाएर मानिसहरूलाई छिटो निर्णय गर्न बाध्य पार्ने मुख्य रणनीति हुने गरेको छ ।

एएफपीले समीक्षा गरेका केही फेसबुक विज्ञापनहरूले पनि प्रयोगकर्ताहरूलाई नक्कली टिकट पेजतर्फ पठाएको पाइएको छ । रोमानियास्थित साइबर सुरक्षा कम्पनी बिटडिफेन्डरले पनि मेटा प्लेटफर्महरूमा फुटबलसँग सम्बन्धित ५५ वटा ठगी विज्ञापन अभियान फेला पारेको जनाएको छ ।

मेटाले फेसबुकमा टिकट खोज्ने प्रयोगकर्ताका लागि चेतावनी सन्देश देखाउन थालेको छ । साथै, नक्कली फिफा वेबसाइटसँग जोडिएको केही नेटवर्क हटाइएको जनाएको छ ।

अनलाइन मात्र होइन, अफलाइन ठगी पनि बढेको देखिएको छ । टोरन्टो प्रहरीले सोमबार १६ हजारभन्दा बढी नक्कली फुटबल जर्सी र झण्डा साथै दुईवटा नक्कली ट्रफी बरामद गरेको जनाएको छ ।

अमेरिका, मेक्सिको र क्यानडाका अधिकारीहरूले समर्थकहरूलाई केवल प्रमाणित स्रोतबाट मात्र टिकट तथा सामान खरिद गर्न, वेबसाइटको ठेगाना ध्यानपूर्वक जाँच गर्न र सामाजिक सञ्जालमा देखिने आकर्षक प्रस्तावप्रति सतर्क रहन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया